सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

डिसी नेपाल
२८ असोज २०८३ २१:५५
12
Shares

धनुषा। सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ।

दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो। बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो।

यसअघि उक्त बजार मङ्गलबार र शनिबार गरी सातामा दुई दिन मात्र सञ्चालन हुँदै आएको थियो। बजारका ठेकेदार अनिल चौधरीले दसैँका बेला खसीबोकाको माग बढेको र खरिदबिक्री गर्नेको चापसमेत वृद्धि भएकाले बजार सञ्चालनको अवधि थप गरिएको बताए।

चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको ठेकेदार चौधरीले बताउनुभयो । दसैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन छ।

सखुवास्थित मधेसी खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि उत्पादन बिक्री गर्ने महत्वपूर्ण स्थल हो । घरपालुवा खसीबोका बजारमा ल्याएर बिक्री गर्न पाउने भएकाले चाडपर्वको समयमा किसानलाई आम्दानी गर्ने अवसरसमेत प्राप्त भएको छ।

व्यापारी महेन्द्र यादवले खसीबोका बिक्री वितरण कार्यले बजार चलायमान भएको बताए। बजार थप तीन दिन सञ्चालन हुँदा खसीबोका खरिदबिक्रीका लागि उपभोक्तालाई समयको छनोट हुने तथा किसान र व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

दसैँ नजिकिँदै जाँदा खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ। यो अवधिमा स्थानीय पशुपालक किसान, व्यापारी तथा अन्य व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दसैँमा खसीबोकाको माग उच्च रहने भएकाले बजारमा खरिदबिक्री सहज बनाउनुका साथै उपभोक्ताले उचित मूल्यमा खसीबोका खरिद गर्न पाउने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।

बजारको व्यवस्थापन र व्यवस्थित कारोबारले किसान तथा व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्न र उपभोक्तालाई आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने देखिन्छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *