स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित (तस्बिर)

डिसी नेपाल
२० माघ २०८१ १२:३४
132
Shares

काठमाडाैं। स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन्।

सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो, जस अनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया शुरू गर्ने उल्लेख थियो।

तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन्।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रविण थारुले मोही किसानहरुलाई मोही पूर्जा प्राप्त भएपनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए। उनले सरकारले आफूहरुसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उल्लेख गरे।

काठमाडौंको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ।

स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ। मोही कायम भएको जग्गाको स्वामित्व आफूहरुले पाउनुपर्ने मोही किसानको माग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *