लघुकथा: सम्धीको उपहार
सम्धीज्यू आउनु भएको छ-राजमानकहाँ।
राजमान र सम्धीज्यूको खानपान, अम्मल, दिनचर्या, रुचि आदि धेरै कुरा मिल्छन्; एउटा कुरा मिल्दैन। त्यो के भने सम्धीज्यू सक्रिय राजनीतिमा हुनुहुन्छ, आफ्नो क्षेत्रमा उहाँको राजनीतिक पहिचान पनि छ। राजमान राजनीतिक रूपमा तटस्थ छ, सबैका गुणदोष औंल्याउन स्वतन्त्र छ।
बेलुका खानपिन सकिएपछि सम्धीज्यूले ब्याग खोल्नुभयो र एउटै रंग एकै बुट्टाका तीनचारवटा नयाँ टोपी झिक्नु भयो। अनि भन्नु भयो- ‘सधैं टोपी लगाउने सम्धीज्यूलाई मेरो उपहार यो टोपी! टाउकाको नाप मिलाएर जुन ठिक हुन्छ, लिनुहोस्।’
राजमानले धक मानी मानी टोपी छान्यो, एउटा टिप्यो र लगायो। सम्धीज्यूले भन्नुभयो-‘आहा, क्या खुल्यो !! यति सुहाएको त कमैलाई देखिदो हो।’
राजमानले टोपी फुकाल्यो र हेर्यो। उसले अघि देखेको थिएन; अहिले देख्योर्टोपीमा बुट्टाका रुपमा छापिएका रहेछन् सम्धीकै पार्टीको चुनाव चिन्ह!
राजमानलाई सम्धीले ल्याइदिएको उपहारमाथि तत्काल खासै टिप्पणी गर्न उचित लागेन।
राजमानको सधै टोपी लगाउने बानी। जसको पनि पहिलो दृष्टि टोपीमै पर्ने।
बिहान मोर्निगवाकमा निस्किन लाग्दा लगाउने टोपीको सवालमा राजमान संकटमा पर्यो र पुरानै टोपी लगाएर निस्कियो।
सम्धीज्यूले भनी हाल्नु भो- ‘लौ, सम्धीज्यू त उही पुरानै टोपीमा पो! हजुरलाई मेरो उपहार मन परेन?’
राजमान र सम्धीज्यूका बीचमा मित्रवत् धेरै सवालजवाफ हुन्छ; हस्सीमजाक पनि हुन्छ । तर सम्धीज्यूको सवालजवाफमा आज जति गहिरो संकटमा राजमानले आफूलाई कहिल्यै पाएको थिएन।
No ads found for this position




Facebook Comment