लोकगायक यज्ञराज उपाध्यायलाई एक लाख एघार हजारको पुरस्कार
काठमाडौं । सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीले लोकगायक एवं सस्कृत विद् यज्ञराज उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति ग्रन्थका लागि एक लाख एघार हजार एक सय एघार राशिको सम्मान प्रदान गरेको छ।
उनलाई बरिष्ठ साहित्यकार तथा कोषकार आर. डी. प्रभास चटौतद्वारा स्थापित प्रभास राज्यलक्ष्मी कीर्ति पुरस्कार २०८० प्रदान गरिएको हो। चटौत डोट्याली शब्दकोषका लेखक हुन्।
सुदूर भूमिमा जन्मिएर लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्याएको भन्दै उपाध्यायलाई सम्मान गरिएको समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।
उपाध्यायको ९८४ पृष्ठको पुस्तकमा काली–कर्णाली क्षेत्रका लो साहित्यका सबै विधागत विषय समेटिएका छन्। लोकगीत, लोककथा, लोकगाथा, उखान, टुक्कालगायत सबै विषय समावेश भएका छन्।

फाग, मागल, धमारी, चाँचरी, हुड्केउली, भुवो, रनपुतला, होरी, गौरा, अठवाली, भोलाउलो, ठाडो खेल, चैत जस्ता ६० वटा प्रमुख विधा, त्यसका उपविधा र त्यसमा गाइने गीतहरू पुस्तकमा समाविष्ट रहेका छन्। जुन शीर्षकबाट पढ्यो त्यहीबाट नयाँ विषयको उठान र पूर्ण जानकारी प्रदान गर्नेगरी उपाध्यायले पुस्तकलाई तयार पारेका छन्।
उनले गीतमा भन्न खोजिएको विषयको संक्षिप्त चर्चा पनि गरेका छन्। सबै चाडपर्वमा गाइने गीत र खेलिने खेलका विषयमा पनि चर्चा गरेका छन्। कसरी गाइन्छ?, कसरी खेलिन्छ?, कस्तो भेसभुसा प्रयोग हुन्छ? लगायत विषय उनले पुस्तकमा समावेश गरेका छन्।
काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्वका विषय पनि उनले यसमा समावेश गरेका छन्। त्यस क्षेत्रमा बजाइने बाजाहरूको पनि सचित्र वर्णन गरिएको छ। पुस्तकमा थारु समुदायका लोक नृत्य र चाडपर्वका बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ।
दार्चुला जिल्लामा रहेको व्यासी सौका समुदायका चाडपर्व र संस्कृतिको व्याख्या पनि पुस्तकमा छ। काली–कर्णालीका गाली–बोली, लोकमन्त्र लगायत सम्पूर्ण विषय समावेश गरेका छन्।
उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकडेउडा गीतका गायक पनि हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment