जम्मु कश्मीरमा ठूलो आतंकवादी आक्रमण, नेपाल-भारत सीमामा विशेष निगरानी

डिसी नेपाल
२१ वैशाख २०८२ १२:०८
21.9k
Shares

काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको घट्नाले नेपाल–भारतका सबै सीमा नाकामा विशेष निगरानी गर्न थालिएको छ । भारतमा अपराध गरी नेपालमा आश्रय लिनसक्ने संभावनालाई ध्यानमा राखेर सबै नाका निगरानीमा राखिएको हो ।’ एक साताअघिबाट नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

नेपाल प्रवेशका लागि भारतीय नागरिक र भारतीय मुस्लिम समुुदायका नागरिकलाई समेत कडाई गरिएको छ । नेपाली मुस्लिम नागरिकले अन्य विदेशी मुस्लिम नागरिक नेपाल प्रवेश गराउन खोजेमा सुरक्षाकर्मीले कडा निगरानीमा राख्ने गरेका छन् ।

जम्मु–कस्मिरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनापछि भारत–पाकिस्तानबिच तनाव बढ्दा नेपालले सीमावर्ती नाका प्रवेशमा मुस्लिम नागरिकलाई कडाई गर्न थालिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाका क्षेत्रमा संयुक्त गस्ती थालेका हुन् भने दुवै सुरक्षा निकायले निगरानी पनि बढाएका हुन् । ‘गस्ती गर्ने, अनुगमन गर्ने र निगरानी गर्ने सुरक्षा निकायका नियमित कार्य हुुन’, नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने ।

अनाधिकृत गतिविधि र व्यक्तिको घुसपैठ रोक्न सीमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । सीमावर्ती क्षेत्रबाट घुसपैठ हुन सक्ने आशंका तथा भारतले पाकिस्तानी नागरिकलाई निकाला गरेपछि पाकिस्तानी नागरिक सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न सक्ने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको स्रोतको दावी छ ।

भारत र पाकिस्तानबिच तनाव बढेका वेला भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग इन्चार्ज विजय चौथाइवाले नेपाल भ्रमणमा रहेका बेला यो विषयमा चासो राखिएपछि नेपाल प्रहरीले सेटमै सीमा नाका कडाई गर्न निर्देशन दिएको थियो ।

सशस्त्र प्रहरीले सबै प्रकारका सुरक्षा व्यवस्थामा चासो राखेको छ । विजय चौथाईवालेले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर सीमा सुरक्षामा चासो दिएका थिए ।

नेपाल–भारतबिच सीमा जोडिएका जिल्ला २७ छन् । भारतसँग १७ सय ५१ किलोमिटर सीमा दूरी जोडिएको छ। तर, विशेष गरी तराईका झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकी नाकामा गस्ती बढाइएको ।

हुन त अवैध घुसपैठ रोक्न भन्दै भारतीय पक्षले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। ‘मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र कोशी प्रदेश र लुम्बिनी प्रदेशका नाकमा कडाई गरिएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

मधेश प्रदेशमा प्रहरीले थप सतर्कता अपनाएको छ। सप्तरीको गोबरगाढादेखि पश्चिममा पर्साको ठोरीसम्म ४६४ किलोमिटर मधेश प्रदेशको सीमा भारतको विहार राज्यसँग जोडिएको छ। सीमानाकामा थप कडाइ गर्नुका साथै शंका लागेका व्यक्तिको परिचयपत्र हेरेर मात्र नेपाल प्रवेश गर्न दिने गरिएको छ ।

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सधैँ सुरक्षा निगरानी गर्दै आएको छ । ‘सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती रहेको छ’, स्रोतले भन्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *