८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए।
‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने।
४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरे। पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए।
अबको पार्टी कामको दिशा युवाको बिचमा पार्टीलाई लैजाने भएको उनले जनाए। देशका मतदाताको ठुलो हिस्सा युवा भएकोले युवाको बिचमा पार्टी जानु पर्ने उनको धारणा छ। युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन्।
उनले पार्टीको पक्षमा निष्ठाका साथ उभिन पनि नेताहरुलाई आग्रह गरे। पार्टीमाथि चौतर्फी आक्रमण भएको बेला त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने पोखरेलको धारणा छ।
नेकपा एमालेलाई पटक पटक विभाजन प्रयास गरिएको बताउँदै उनले ती सबै समस्यासँग जुध्दै एमालेलाई फेरी जनताको रोजाइको सबैभन्दा पहिला पार्टी बनाइएको पोखरेलले जिकिर गरेका छन्। जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामर्थ्य एमालेले जुटाउन नसकेको उनको भनाइ छ। २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उनको धारणा छ।
अहिले दुईवटा ठुला पार्टी मिलेर मुलुकलाई संकटबाट निकाल्ने प्रयास गरिरहेका पोखरेलले बताए। दुई ठुला पार्टी मिलेपछि देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको पोखरेलले दाबी गरे।







डिसी नेपाल







Facebook Comment