धरान र विराटनगर भ्रमण भाग ३ : धरान

घाम अस्ताउनु अगावै हामी धरान पुग्यौं। हिजोआज भानुचोक, खासगरी पुतली लाइनदेखि पश्चिम भाटभटेनी सुपरमार्केट भएको इलाकासम्म निकै भिडभाड र चहलपहल हुन थालेको रहेछ। २०४५ सालको भूकम्प अघि धरानका अधिकांश घरहरू काठले बनेका हुन्थे।
त्यतिबेला भएको भूकम्पको विकराल क्षति पछि विस्तारै पक्की घरहरू बन्न शुरु भए धरानमा। सैनिक सेवामा विदेशमा बसेका लाहुरे परिवारले आर्जेको पैसाले धरानमा विदेशमा जस्तै चिटिक्क परेका आधुनिक बंगला बनाएर बस्न थाले। सडकहरू पनि योजनावद्ध तवरले बने।
अनि अन्य व्यवसायी र धरानका बासिन्दाले पनि त्यस्तै राम्रा घरहरू बनाएर बस्न थाले। बिदाको दिन खासगरी शनिबारको दिन टोल टोलमा प्रत्येक घरबाट कम्तीमा एक जना टोल सफाई कार्यक्रममा भाग लिन आउने चलन अझैसम्म पनि छँदैछ।
भन्नै पर्दा नेपालका शहरहरूमा धरान ज्यादै सफा र व्यवस्थित शहरको रूपमा पहिलो नम्बरमा छ। धरानेहरूकै बाहुल्यता भएको काठमाडौंको नखिपोट क्षेत्रमा सानो धरान शहर नै ठडिएको छ।
साँझपख सडकको दुवैतिर भएका पसलहरूको झिलिमिली, किनमेल गर्ने र रेष्टुरेन्टमा खाना खान जानेहरूको घुइँचो र भाटभटेनी सुपरमार्केटमा नै किनमेल गर्न र रमिता हेर्न जानेको पनि ताँती। यो क्षेत्रमा निकै साजसज्जाका साथ राम्रा र नयाँ परिवेशका रेष्टेरेन्टहरू खुलेका रहेछन्।
विभिन्न बैंक तथा बिमा कम्पनीका शाखा, लहरै फर्निचर पसलहरू, दवाईका दोकान र स्वास्थ्य परीक्षण केन्द्रहरू, चिया र कफी पिउने भव्य पसलहरू तथा आधुनिक व्यायामशालाहरू खुलेका छन्।
हाम्रै मित्र तथा संगीतका साधक भानु थापाले खोलेको गीतार ता अन्य वाद्यवादनका साधन र ध्वनी यन्त्रहरू बिक्री गर्ने निकै राम्रो पसल र त्यसको माथि संगीत प्रशिक्षणशाला पनि त्यतै छन्। उनको पसलमा धेरै सामान किन्ने अवसर बरोबर मिलेको छ।
सस्तो हुनुका साथै विविध प्रकारका सामानको उपलब्धता। साँझपख संगीतका पारखी हाम्रा उमेरका साथीहरूसँग पनि त्यहीँ भेटघाट भइहाल्ने। यसपाली पनि गायक रोहित मास्के लगायत केही साथीहरूसँग त्यहीँ भेट भयो।
अन्य ब्रान्डेड कपडा र जुत्ताका पसलहरू पनि धेरै नै खुलेका। हाम्रो अर्को मित्र मेहरलाल श्रेष्ठको पुरानै तर हाल निकै परिस्कृत खेलकुदका सामान र पहिरन बिक्री गर्ने पसल। धरान गए पिच्छे उनको पसलमा केही न केही सामान मैले किनेकै हुन्छु।
काठमाडौंबाटै सामान लगेर बेच्ने भए पनि उनको पसलमा विशेष प्रकारका उच्च स्तरीय सामानहरू राखिने भएकोले समयको बचाव हुने। उनका पिता आजभन्दा ६ दशक अघि बनेपाबाट व्यापारको सिलसिलामा धरान पुगेका रहेछन्।
त्यहाँ निकै दुःख गरेर उनले आजको स्थितिमा पुग्न सफल भएका र केही समय अघि उनको निधन पनि भइसकेको अवस्था। शुरुका दिनहरूमा धरान बसपार्कको सडकपेटीमा नै कपडा तथा अन्य सामान बिक्री गरेर मेहरका पिताले निकै दुःखका साथ त्यहाँ घडेरी जोडेका रहेछन्।
पछि परिवारका विभिन्न सदस्यहरूलाई पनि उतै बोलाएर व्यापार बढाउँदै गएछन्। उनका छोरा मेहर उतै जन्मेका हुन्। त्यसैले उनको शिक्षादीक्षा पनि धरानमा नै भयो। पछि उनले पनि पिता कै व्यापारलाई निरन्तरता दिँदै यसलाई आधुनिकताका साथ अघि बढाएर आज धरान कै सबैभन्दा ठूलो र विश्वासिलो खेलकुद सामग्रीको पसल, त्यो पनि आफ्नै घरमा सञ्चालन गर्न सफल भएका छन्।
व्याडमिन्टन खेल्न ज्यादै रुचाइने शहर धरान। अनि व्याडमिन्टनका ¥याकेटदेखि त्यसमा हाल्ने गट (धागो) कस्ने आधुनिक मेसिन समेत राखेका मेहरले। आफैं पनि व्याडमिन्टनका कुशल खेलाडी। यति सब गुण भएर पनि उनमा कुनै अभिमान देखिँदैन।
आफ्नो पुख्र्यौली थलो बनेपाको पनि माया छँदैछ। काठमाडौं आएपिच्छे बनेपा जाने गर्दछन्। उनकी मातासँग पनि पुराना दुखसुखका कुरा गर्न यसपाली भ्याइयो। मेहरसँगको मेरो चिनाजानी अढाई दशक लामो छ। धरान जाँदा उनको दोकानमा म र काठमाडौं आउँदा मकहाँ उनी आउने क्रम अझ पनि उस्तै छ।
धरानको पूर्वबाट पश्चिमको क्षेत्र समथर भएकोले भानुचोकदेखि राँगाचोक हुँदै रत्नचोकसम्मै रिक्सा खुबै चल्दथे। तर हिजोआज विजुलीले चल्ने रिक्सा आएपछि यसले पुराना रिक्सालाई विस्थापित गरेको छ।
अर्को रोचक कुरा के पनि रहेछ भने विजुलीको रिक्साको शक्ति कम हुने भएकोले ती प्रायः तेर्सो समथर बाटोमा चल्दा रहेछन् भने उत्तर-दक्षिणका भिराला बाटोमा भने बढी शक्तिका डिजेल र पेट्रोलले चल्ने ट्याम्पोहरू चल्दा रहेछन्।
वि.सं. २०६३ सालसम्म म धरानमा बस्दा त्यहाँ खासै राम्रा होटेल थिएनन् भने पनि हुन्छ। एम्बेसेडर, रत्न इन, ड्रिमल्याण्ड, युग, निर्वाण कन्ट्री क्लब आदि केही ठीकैका होटेल थिए तर आँगन होटेल राम्रो र सुरक्षितमा गनिन्थ्यो। त्यो पनि ज्यादा स्तरीय होइन।
तर त्यो होटेलका संस्थापक रत्नकाजी तुलाधर र उनको परिवार निकै संस्कारी भएकाले उनीहरूको होटेलमा बास बस्दा आफ्नै घरमा बसेजस्तो सुरक्षित महसुस हुन्थ्यो। पछि उनलाई बिर्सने रोग (अल्जाइमर्स डिजिज) ले गाँज्दै गयो भने उनकी कान्छी छोरी सीता तुलाधरले होटेलको व्यवस्थापन आफ्नो काँधमा लिइन्। पछिसम्म होटेल राम्रैसँग चलि नै रहेको थियो। तर आज आएर यो होटेल बन्द जस्तै भइसकेको छ।
रत्नकाजी तुलाधरको जन्म काठमाडौंमा भएको थियो। उनी युवावस्थामा नै राम्रो कामको खोजीमा विमानमा विराटनगर आर्लिएका थिए। त्यतिबेला अठार–बीस रुपैयाँ मात्र परेको अरे विमानको टिकटको।
पेशाले सिकर्मी परिवारका उनले त्यसपछि पूर्वी तराईको गर्मीमा दर दरको ठोकर खाएर कता कताबाट धरानको घोपा क्याम्पमा आइ पुगेछन्। पुड्को कदका इमान्दार र मेहनती रत्नकाजीसँग घोपा क्याम्पका गोरा अफिसरहरू निकै खुशी भएछन् र त्यहीँ बस्ने वन्दोवस्तीका साथ काठको काम दिन थालेछन्।
बिस्तारै थोरै थोरै रकम जम्मा गर्दै उनले आफ्नो जीवनभरमा धरान १० मा एउटा ठूलै घडेरी किनेर घर बनाएर बस्न थालेछन् र पछि त्यो घरलाई अझै बढाएर होटेलको रूपमा विकास गरेका रहेछन्।
हाल धरानमा होटेल गजुर प्यालेस, ड्रिमल्याण्ड, नवयुग, निर्वाणा कन्ट्री क्लब, स्टारपूर्वी, गोर्खालगायत आधा दर्जन जति राम्रै होटेल सञ्चालनमा छन्। यिनको सेवा स्तरीय नै भए पनि बिर्तामोड, विराटनगर र इटहरीको दाँजोमा धरानका होटेलहरू निकै पछाडि नै छन्।
हुन त धरानबाट १५ किलोमिटर दक्षिणको तरहरा बजारमा सोल्टी वेस्टएन्ड होटेल र इटहरीमा सांग्रिला, चिन्तन चौतारी, स्वागत, पाथीभरा, गोरखा, वरण्डा आदि होटेल छन् भने उत्तरको भेडेटारमा पनि होटेल बुद्ध इन र अन्य होटेल छँदैछन्।
हामी धरानको चतरा लाइनमा खुलेको नयाँ होटेल ‘गोर्खा’मा बस्न गयौं। सफासुग्घर तथा नयाँ घरमा बनेको यो होटेलको आँगनमा ठूला ठूला गमलामा रोपिएका बेगमबेलीका बोटहरूमा लटरम्म फुलेका रंगीबिरंगी फूल देख्दा मन निकै खुशी भयो।
कोठाहरू ठूला र सफा तथा सुविधाजनक भए पनि अन्य तल्लामा बसेका कुनै राजनीतिक दलका मानिसले ठूलो स्वरमा बात मारेको होहल्लाले अलि अशान्त बनायो मन। तर सुरक्षित बसाइ नै रह्यो भने स्वादिलो र स्वस्थकर खाना खान पाइयो। फेरि फेरि जाँदा पनि त्यतै बस्ने विचार छ। बिहानको खाना सोही होटेलमा खाने बन्दोबस्ती मिलाए पनि हामीले रातिको खाना बाहिरका रेष्टुरेन्टहरूमा खाने निधो गर्यौं।
बेलुकी धरानका एकजना भाइको त्यहीँ नजिकको घरमा उनका छोराको बिहेको जन्ती जाने कार्यक्रममा सामेल हुन ठाँटिएर त्यता गयौं। जागीरको सिलसिलामा धरानमा छँदादेखि ती भाइकी आमालाई आफ्नै आमा सम्झिएर आमासरी मानिआएको छु।
त्यस्तो नातो भएको मेरो भाइको छोराको बिहेमा सरिक नहुने त कुरै भएन। त्यसै पनि धरानको सवा चार वर्षको बसाइँको दौरान गाढा सम्बन्ध बसेका सबै कहाँ म दुख-सुखको बेला पुगेकै हुन्छु र उनीहरू पनि मकहाँ आएकै हुन्छन्।
आमाको आर्शीवादका साथै दुलाहा केटोलाई आर्शीवाद दिएर बिहेको जन्ती जाने तयारीमा जुटेँ। बिहेको निम्ति ठेट नेपाली पञ्चेबाजा र नेवारी बाजाको बन्दोवस्त गरिएको रहेछ। बाजा बजाउनेहरूमा छोरी मान्छे पनि आधै जस्तो संख्यामा थिए। निकै खुशी महसुस भयो। जन्तीका सबैलाई आमाले टिका लगाइदिएर सगुन दिनुभयो, नेवारी संस्कार मुताविक। हामीले पनि एक एक पोका मसला पायौँ र खल्तीमा राख्यौँ।
जन्ती केही बेर सडकमा हिँडेर त्यसपछि मोटरगाडीहरूमा रत्नरोड पुग्यो। हाम्रै चिनाजानीका यानी जसको नामबाट धरानको छाताचोक र भानुचोकको बीचको ठाडो लाइनको भित्री बाटोको नाम ‘रत्नरोड’ राखिएको थियो, उनै रत्नप्रसाद श्रेष्ठका नातिले आफ्नै जमीनमा खोलेको भव्य पार्टी प्यालेसमा हाम्रो भतिजको जन्ती पुग्यो। दुलही पक्षबाट भव्य स्वागत। ज्यादै रमाइलो वातावरण।
त्यो रात हामीले एकजना साथिसँग भेटेर रातीको खाना खाने कार्यक्रम काठमाडौंबाटै तय गरेकोले सो जन्तीको कार्यक्रममा धेरै बेर बस्न पाएनौं। त्यसैले हाम्रो धरान भ्रमणको पहिलो रातमा ती मित्रका साथ पुतलीलाइन कै एक नयाँ तथा ठूलो रेष्टुरेन्टमा गएर थकाली खाना खायौं।
ज्यादै स्वादिलो खाना र रमाइलो वातावरण। मित्रसँगको धेरै पछिको भेट र नयाँपुराना कुराले गर्दा ज्यादै रमाइलो भयो। खाना पश्चात् एक एक कप अमेरिकानो कफीको चुस्की पश्चात् मित्रसँग बिदा भएर ठण्डी मौषममा उकालो बाटोमा हिँड्दै आफू बसेको होटेलमा पुग्दा खाना पचाउन निकै सहज भयो।
वास्तवमा विराटनगरमा जस्तै धरानमा पनि पिताजीको नयाँ पुस्तकको लोकार्पण गर्ने योजना थियो हाम्रो। त्यसैले एक सयभन्दा बढी प्रति पुस्तक धरानको निम्ति बसबाट अग्रिम पठाएको थिएँ।
तर यस्ता कामको निम्ति कुनै स्थानीय व्यक्ति वा संस्थाले त्यहाँको लोकार्पण स्थल (भेन्यू) देखि पाठकहरूलाई आमन्त्रण गर्ने जस्ता कामको व्यवस्थापनमा मद्दत नपुर्याई आफैंले मात्र त्यस्तो कार्यक्रम गर्ने सोच बनाउन कठिन हुन जान्छ। केही साथीहरूसँग यो बारे कुरा भएको र आश्वासन पाएको भए पनि पुस्तक पठाएपछि ती मित्रहरू कता हराए हराए।
विराटनगरको कार्यक्रम सफल हुनमा त्यहाँका साथीहरूको ठूलो योगदान र मद्दत रहेको थियो। त्यस्तो मद्दत धरानमा त्यो छोटो समयमा पाउने सम्भावना नदेखिए पछि मैले धरानमा लोकार्पण कार्यक्रम गर्ने कुरालाई सहजै बिर्सिदिएँ।
बरु मलाई यति विश्वास थियो कि त्यहाँ पुगिसकेका सयभन्दा बढी पुस्तकहरू म घर घरमा गएर साथीहरूलाई बिक्री गर्न सक्छु भन्ने। त्यसैले काठमाडौँ छोड्ने बेलामा मनमनै गरेको बाचालाई सम्झेर कुनै तनाव मनमा नलिने अठोटका साथ तनावरहित बनेर मुसुक्क हाँसेर भोलिको कार्यक्रमको योजना बुन्दै छिटै सुति पनि हालेछु।
क्रमश…..
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
Facebook Comment