निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

डिसी नेपाल
२७ वैशाख २०८२ ७:१५

रामेछाप। निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोशी नदी माथिको पक्की पुल भाँचिएको छ।

मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो। सो पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो।

कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन्। दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बिचको स्पान अन्तिम ढलान गरिएको थियो। ढला सकिएको केही दिनमा पुल क्रर्याक भएको छ।

संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत सो पुल निर्माण भएको हो। यो वर्षा अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो। तर अन्तिम समयमा आएर पुल नै भाँचिए पछि निर्माणकार्यमा अन्यौलता थपिएको छ।

सो पुल निर्माणका लागि २०७८ सालमा कालिका-कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो। पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो।

पुल भाँचिनुको कारण खुलेको छैन। निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ। त्यस पछि पुल पुरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्न सकिने खुल्ने छ।

यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो। मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दुरी पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *