भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक: उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन्।
नेपाल भाषा, एकेडेमीद्वारा आज यहाँ आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए।
उप्रधानमन्त्री सिंहले भने, ‘सम्पदाका रुपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ।’
काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गरिन्। उनले भनिन्, ‘नेवा प्रविधि र शिल्प ज्ञानलाई पाश्चात्य दृष्टिकोणबाट मात्र नभई समुदायले विचारका आधारमा अनुसन्धान अघि बढाउन जरुरी छ, नेपाल भाषा नेपालीलेभन्दा विदेशीले बढी अनुसन्धान गरेको तथ्यांकले देखाएको छ।’
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता– नेवा प्रविधि–शिल्प ज्ञान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेवारी समुदायले अभ्यास गरिरहेका चित्रकला, जात्रा, पर्व, नाटक, लेख, अनुसन्धान र खानपिन देशकै अमूल्य निधि भएको बताए। नेवार सांस्कृतिक समुदायका रूपमा पहिलेदेखि परिचित भए पनि नेवार एउटा सभ्यता हो, भनेर पुष्टि गर्न आजको कार्यक्रम पहिलो प्रयास भएको दाबी गरे।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गरे। प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रुपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राखे।






डिसी नेपाल





Facebook Comment