त्रिभुवन विमानस्थलमा मानव तस्करका दुईवटा संकेत एल र एस, यसरी बिक्री हुन्छन् नेपाली कामदार

डिसी नेपाल
३० वैशाख २०८२ १०:०४

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्कलले दुई वटा संकेत प्रयोग गरेको पाइएको छ। केटीलाई एल र केटालाई एस प्रयोग गरेर गैरकानुनी रुपमा विदेश पठाइएको खुलासा भएको हो। पर्यटक भिसामा वैदेशिक रोजगारीका लागि मानव तस्करी गर्ने कार्य ‘व्यवस्थित’ रुपमै चलाइएको पाइएको हो।

नियमअनुसार विदेशमा काम गर्नको लागि पर्यटक भिसामा जान पाइँदैन तर विमानस्थलमा भने अध्यागमन कार्यालयकै नेतृत्वमा निश्चित शुल्क लिएर अवैध रुपमा नेपालीहरुको तस्करी भइरहेको छ।

पछिल्ला केही वर्षमा नेपालीहरु ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। तर, कोभिड १९ महामारीपछि भने युएइलगायतका खाडी देशहरुमा नयाँ कामदार भिसा जारी गर्न कडाइ गरेका छन्। ती देशहरुमा पहिलेदेखि नै काम गरिरहेका नेपालीहरुले कामदार भिसा सजिलै पाउने भए पनि नयाँ कामदार भिसा भने जारी गर्न निकै कडाइ गरिएको छ।

पहिले विदेशमा काम गरेका तर भिसा रद्द गरेर फर्किएका वा पहिलो पटक काम गर्नका लागि विदेश जान चाहने नेपालीले अहिले सहजै कामदार भिसा पाउन सकिरहेका छैनन्। कामदार भिसा नपाएपछि काम गर्न जान चाहने नेपालीहरु नेपालबाट पर्यटक भिसामा उड्ने र त्यहाँ गइसकेपछि काम खोजेर उतैबाट आफ्नो भिसाको स्थिति परिवर्तन गर्ने गरेका छन्।

भिजिट भिसामा जानको लागि दुईतर्फी हवाइ टिकट, ५०० अमेरिकी डलर बराबरको सटही भएको नगद, होटल बुकिङ लगायत अन्य केही मापदण्ड पूरा गर्नुपर्छ। तर, विमानस्थलस्थित अध्यागमन कार्यालय, बिचौलिया, ट्राभल एजेन्सी र एयरलाइन्सहरुको मिलोमतोमा यी मापदण्ड पूरा नगरेकालाई समेत निश्चित रकम लिएर पठाइदिने वा माददण्ड पूरा गरेकालाई पनि दबाबमा पारेर पैसा असुल्ने काम भइरहेको आरोप छ।

गरिब र बेरोजगार नेपालीसँग पैसा असुलेर पर्यटन भिसामा श्रमका लागि प्रस्थान अनुमति दिने यो धन्दाबारे विदेश जाने नेपालीहरु पनि जानकार छन् तर यसबारे बोल्दा आफैं जान नपाउने जोखिम हुने भएकोले उनीहरु यसबारे बोल्दैनन्। अध्यागमन कार्यालयका कर्मचारीलाई चित्त बुझाएपछि मात्र सम्भव हुने यो मानव तस्करीको काम सो कार्यालयमा नयाँ प्रमुख आएपछि झन् फस्टाएको आरोप छ।

यो सबै सेटिङमा अध्यागमन कार्यालय विमानस्थलका प्रमुख तीर्थराज भट्टराईको हात रहेको आरोप लागेको छ। स्रोतका अनुसार उनी आएपछि भिजिट भिसामा कहिले कडाइ गर्ने र कहिले खोल्ने गर्दा मानव तस्कर सलबलाउन थालेका छन्। तर भट्टराई भने सो आरोपलाई अस्वीकार गर्दछन्।

अध्यागमन कार्यालय विमानस्थलका प्रमुख तिर्थराज भट्टराईले भने नेपाल सरकारले भिजिट भिसामा विदेश जानका लागि तोकेको ६ बुँदे मापदण्ड पूरा गरेका नेपालीहरुलाई विदेश जानबाट रोक्न नमिल्ने बताए ।

‘प्रक्रिया पूरा गरेर आएकालाई रोक्ने हामीसँग अधिकार छैन, प्रक्रिया पूरा नभएकाहरुलाई हामीले जान दिँदैनौं’ उनले भने, ‘रकम असुलेको आरोपमा यसको प्रमाण भेटिए हामी कारवाही गर्छौं।’

तर, विमानस्थलको अध्यागमन डेस्क, चेकिङ लगायतमा खटिने सबै कर्मचारीलाई आन्तरिक मोबाइल सर्कुलर नै गरी कुन देशमा जाने महिला वा पुरुषसँग कति पैसा उठाउने भनी घुस उठाउन निर्देशन जारी गरेको कागज नै भेटिएको छ। यसमा विदेश जाने नेपालीको लिंग, गन्तव्य देश र भिसाको प्रकारको आधारमा फरक फरक रकम उठाउनुपर्ने उल्लेख छ। यो सर्कुलर कसले जारी गरेको हो भन्ने स्पष्ट छैन।

यो कागजमा सांकेतिक रुपमा नेपाली महिलालाई एल र पुरुषलाई अंग्रेजी अक्षर एसका रुपमा चिनाइएको छ। यसमा एललाई भ्रमण भिसामा कामका लागि खाडी देशमा पठाउँदा प्रतिव्यक्ति ४० हजार र एसलाई २० हजार लाग्ने उल्लेख गरिएको छ। यसबाहेक यसमा अन्य देशहरुमा पठाउँदाको दररेट पनि उल्लेख गरिएको छ जुन लिंग, गन्तव्य देश र भिसाको प्रकारका आधारमा फरक फरक छ।

स्रोतका अनुसार अध्यागमनमा चैत्रको तेस्रो सातादेखि तीन हप्तासम्म सबै अवैध कारोबार बन्द गराइएको थियो। उठाइने रकमको दररेट उल्लेख भएको कागज बाहिरिएपछि नै यी कारोबार बन्द गराइएको स्रोत बताउँछ। तीन हप्ताका लागि बन्द गरिएको कारोबार बैशाख १५ गतेदेखि फेरि खुलाइएको पनि स्रोत बताउँछ।

स्रोतका अनुसार अहिले श्रमका लागि भ्रमण भिसामा पुरुष र महिला गरी दैनिक ३ सयभन्दा बढी नेपालीलाई उडाइने गरेको छ। सेटिङमा दैनिक सयौं मानिस उडाउने कार्य सुरु हुनासाथ खाडी राष्ट्रतिर जाने टिकटको मूल्य पनि बढेको छ।

बैशाख १५ अघिसम्म ३५ हजारदेखि ५६ हजारमा उडाउने एयरलाइन्सहरुले सेटिङ खुलेसँगै न्यूनतम ५० हजार र अधिकतम ७० हजारसम्म टिकटको मूल्य पुर्‍याएका छन्।

यात्रु भिसामा कामका लागि विदेशिने पुरुषले सबै प्रक्रियाका लागि डेढदेखि २ लाख लगानी गर्नुपर्ने र खाडी राष्ट्रमा पठाइने महिलाका लागि दलालहरुले नै लगानी गरी उता लगेर बिक्री गर्ने गरेका छन्। खाडीमा बढाबढमा बिक्री गरिने नेपाली महिलाहरु उताबाट फर्कंदा गर्भवती भएर, मानसिक बिरामी बनेर वा अनेकौं पीडामा परेर स्वदेश फिर्ता हुने गरेका अनेकौं दृष्टान्त छन्।

को को छन् त सेटिङमा

विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको स्वीकृति पाएसँगै ट्राभल एजेन्सीहरु, मानव दलालहरु, एयरलाइन्सहरुको समेत मिलोमतोमा गरिब र बेरोजगार नेपालीलाई सम्पर्कमा ल्याइन्छ। महिलाहरुको लागि खाडीतिरबाटै सबै लगानी आउने भएकाले प्राथमिकतामा उनीहरु नै पर्छन्।

पुरुषहरु दलालको माध्यमबाट र आफैं पनि विदेशिन खोज्ने पनि हुन्छन्। कानूनका कमजोरीमा टेकेर पैसा असुल गरी उडाउने कार्यमा विदेशी एयरलाइन्सहरु अलजजिर, एयर अरेबिया, फ्लाई दुबई, कुबेत एयर, एयर इण्डिया, श्रीलंकन एयर, इण्डिगो एयरलाइन्सहरु प्रमुख छन्।

स्वदेशीमा नेपाल एयरलाइन्सले मुख्य भूमिका निर्वाह गरिरहेको छ । पर्यटकका रुपमा भएपनि कामका लागि उडाइन लागेकालाई प्रतिव्यक्ति ४ हजारदेखि १५ हजारसम्म असुली एयरलाइन्सहरुले एकतर्फी टिकट वा नक्कली दुईतर्फी टिकट दिएर उडाउने गरेका बताइएको छ।

श्रम स्वीकृति लिएर विदेशिन चाहने यात्रुहरुले भनेजति रकम नतिर्ने भएकाले एयरलाइन्सहरुको प्राथमिकतामा सेटिङका यात्रुहरु पर्ने गरेका छन्। उनीहरु पाएसम्म श्रम स्वीकृति लिएका यात्रुले टिकट नपाउने र पाएपनि अत्यधिक महँगो हुने भएकाले दैनिक हजारौं श्रमिकहरु भारतको बागदुरा, दरभंगा, लखनौ, गोरखपुर, पटना, कलकत्ता हुँदै विदेशिने गरेका पाइएको छ।

अलजजिराका नेपालमा रहेको मुख्य कार्यालयका कर्मचारी नै सेटिङमा संलग्न रहेको एक ट्राभल व्यवसायीले बताए। यता नेपाल एयरलाइन्सका कर्मचारीले अरु विदेशी एयरलाइन्सहरुसँग समन्वय गरी सेटिङका यात्रुहरुको टिकट र बोर्डिङ पासको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने गरेका पनि बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *