गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

बारा। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिए।
ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे। ‘स्वास्थ्य, स्वस्थ्कर वातावरण स्वस्थ जीवनको आधार हो,’ उनले भने।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उनले बताए।
कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफनो विचार व्यक्त गरेका थिए।
रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो।
उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गरेका थिए। सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गरे।
Facebook Comment