धरान र विराटनगर भ्रमण भाग ४: धरान

बिहान छिटै उठेँ। होटेलको झ्यालबाट पर परसम्मका मनमोहक दृश्यहरू हेरेँ। जाडोको याम भएकोले धरान अझै सुन्दर देखिएको। मौसम त्यतिकै अनुकुल।
काठमाडौंमा प्रत्येक बिहान व्यायामशाला जाने बानी भएकोले धरानमा कमसेकम हिँड्नु त पर्छ भन्ने विचारले होटेलबाट निस्केर उकालै उकालो हिँड्न थालेँ। धरान शहर पूर्वी महाभारत पर्वत श्रृङ्खलाको काखमा बसेकोले उत्तरतर्फ उकाली र दक्षिणतिर ओराली लाग्दै तीनकुनेसम्म पुगेको छ। भन्नै पर्दा धरानबाट शुरु भएको ओराली इटहरीसम्मै पुग्दछ।
एकचोटी सिंगापुर जाने क्रममा दिउँसोको समयमा जेट विमानबाट निकै उँचाईमा उडिरहँदा पूर्वी महाभारत पर्वतमालाको काखको ठीक दक्षिण यानी सायद इटहरी, खनार वा दुहवी माथि उड्दा धनकुटा, भेडेटारको साथै पश्चिममा विशाल कोशी नदी र हरित पहाडको बीचमा पूर्व र पश्चिममा त्रिकोण भित्र फैलिएर सुनौलो रङ्गमा चम्किएको धरान शहर देख्दा म निकै उत्साहित भएको थिएँ।
मेरो मुखबाट ‘उ धरान’ भनेर पनि निस्किएको थियो, तर मेरो अगाडि, पछाडि र साथमा विदेशीहरू मात्र भएकोले उनीहरूले मेरो कुरा बुझ्ने कुरै भएन। आफूलाई ज्यादै उत्साहित बनाएको कुरा अरुलाई बाँड्न नपाउँदा पनि ठूलो पीडा हुँदो रहेछ।
तीनकुनेको सिरीजङ्गा चोक र भोटेपुल हुँदै उकालो लाग्न थाले पछि भानुचोक, छाताचोक, टेलिकमचोक, देवकोटाचोक र जिरो प्वाइन्ट तथा फुस्रे पुग्दा उष्ण हावा बहने तल्लो धरानभन्दा निकै चिसो महसुस हुन थाल्छ।
धरानको तिनकुनेमा स्थापित सिरिजङ्गाको शालिक १८औं शताव्दिका उनै लिम्बु दार्शनिक, इतिहासकार, शिक्षा र भाषाका प्रचारक विद्वान सिरिजङ्गा थेवेको यादमा बनाइएको हो, जसको जन्म ताप्लेजुङमा भएको थियो र जसलाई भुटिया जातिले सिक्किममा एक रुखमा बाँधेर विषालु बाँडहरू हानेर निकै निर्मम तवरले मारेका थिए।
उनी एक विद्वत व्यक्ति तथा सहिदको रूपमा आज विशेष गरी सम्पूर्ण किराँतलिम्बु समुदाय तथा पूर्वी नेपालमा पुजिन्छन्।
चन्द्रशमशेरको शासनकालमा धरान बजार फुस्रेमा नै सीमित थियो। निकै समयपछि सम्म पनि धनकुटा र अन्य पहाडी इलाकामा हिँडेर जान फुस्रेबाट नै यात्रा शुरु हुने गर्दथ्यो।
पछि चन्द्रशमशेर र त्यसपछि जुद्धशमशेरको शासनकालमा पनि हालको धरानका रुख कटान गर्दै धरान (ठूला ठूला आरी)मा चिर्दै भारत निर्यात गर्न थालेपछि र वन विनाश गरेर बाँकी रहेको जमीनमा बस्ती बसाउन थाले पछि आजको धरान शहरको स्वरुप तयार भएको हो।
वृटिशहरूले शुरुमा गोर्खा भर्ति केन्द्र फुस्रेमा नै बसालेका थिए। पहाडबाट तल झरेपछि लाहुर जाने युवाहरू फुस्रेमा नै जम्मा हुने गर्दथे। निकै पछि मात्र गोर्खा भर्ती क्याम्प घोपामा सरेको हो।
२००८ सालमा नेपाल कम्युनिष्ट पार्टीलाई मातृकाप्रसाद कोइराला सरकारले प्रतिबन्ध लगाए पछि पुष्पलालसँगै २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्न ठूलो योगदान पुर्याउनु भएका मेरा पिता गोविन्दप्रसाद लोहनी र अन्य साथीहरू जस्तै राधाप्रसाद घिमिरे आदि धरानमा कम्युनिष्ट पार्टीका कार्यकर्ता र नवप्रवेशीलाई भूमिगत रूपमा तालिम दिन जाँदा विराटनगरबाट गोरु गाडामा खाल्डै खाल्डो भएको धुले बाटो हुँदै विशाल चारकोशे झाडी कटेर धरान पुग्न दुई दिन लागेको थियो रे।
आज यो दूरी ४० मिनेटमा तय हुने गरेको छ। त्यतिबेला धरानमा बीए कृष्णप्रसाद र लक्ष्मी हलवाई जस्ता प्रखर वुद्धिजिवीहरूले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएका थिए।
नेपालको वनजंगलको फँडानी गरेर वन, जडिबुटी र जमीनबाट पैसा कमाउन शुरु गरेको चन्द्रशमशेरले नै हो। पृथ्वीनारायण शाह तथा उनी पछिका नेपाल एकीकरणका नायकहरूले फिरङ्गी पस्न नसकुन् भनेर औलोका लामखुट्टे र डरलाग्दा जंगली जनावरले भरिएको बाक्लो चारकोशे झाडीलाई जोगाउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए।
शिकारप्रेमी जंगबहादुर नेपालको प्रधानमन्त्री भए पछि उनले पनि यो कुराको निरन्तरता दिएकोमा चन्द्रशमशेर प्रधानमन्त्री भएपछि भने मुलुकभरको चारकोशे झाडी मास्ने कामको आरम्भ भयो र त्यही बेलादेखि कृषिको लागि भनेर भारतका ठूला ठूला जमीनदार ठाकुरहरू र उनका श्रमिक नेपालको दक्षिणी इलाकामा आएर इलम गर्न र स्थायी रूपमा बसोवास गर्न थालेका हुन्।
पछि पछि त पहाडबाट तल समथर जमीनमा झर्ने जो कोही पहाडियाले जति वन फाँडेर घरजम गर्न सक्यो, त्यो सब उसको हुन थाल्यो। त्यस्तै राजामहाराजालाई खुशी तुल्याएर वीरता पाउनेले पनि निकै ठूला चकलाहरू प्राप्त गर्न सफल भए।
वृटिश राजको बेलामा उत्तरी भारतको रेलवेको स्लिपर पुरै नेपाली वनको काठबाट बनाइएको हो। त्यस्तै २००७ साल पछि कोशीको बाँध बनाउन पनि धरानको १७ नम्बर वडासम्मै छोटा गजी रेल पुर्याएर ठूलो परिमाणमा ढुंगा ढुवानी गरिएको थियो। तर आज त्यो ऐतिहासिक रेलको कुनै अवशेष पनि बाँकी रहेको छैन।
यदि कोशी प्रदेश वा संघीय सरकारले नै त्यो पुरानो रेलवे लाइनलाई दार्जिलिङमा जस्तै पर्यटक आकर्षण गर्ने हेतुले पुरानै स्वरुपमा विकास गर्न सके यो क्षेत्रको पर्यटनमा निकै बढोत्तरी हुन सक्ने थियो।
लाहुरे हुने होडमा पूर्वी पहाडबाट तल झरेर वृटिश भर्ती केन्द्र रहेको धरानमा बसोवास गर्न थालेका विभिन्न जातजाति र उनलाई सेवा पुर्याउने हेतुले आएका अन्य जातजाति र व्यवसायीको पनि बसोवासले गर्दा आज धरान एक बहुजातीय सभ्यता र संस्कृति बोकेको शहर हुन पुगेको छ।
विश्वविद्यालयमा एन्थ्रोपोलोजीको अध्ययन गर्ने विद्यार्थीको निम्ति धरान जिउँदो संग्रहालयको रूपमा प्रस्तुत छ। खाली आफूले अध्ययन गर्ने विधि बारे पारङ्गत हुनुपर्यो विद्यार्थी वा सोधकर्ताले।
धरान अग्लो स्थानबाट निकै तल्लो स्थानसम्म फैलिएको शहर भएकोले यहाँ पानी जम्ने समस्या छैन। तर वर्षको अधिकांश समय सुख्खा रहने पूर्वी र पश्चिमी किनाराका सेउती र सर्दू खोलामा वर्षात्को समयमा ठूलो वेगले पानी बग्ने भएकोले त्यस्तो समयमा खहरे र खोलाबाट बच्नु पर्ने अवस्था पनि आउने गर्छ।
बाँकी रहेको चारकोशे झाडीको संरक्षण गर्न नसके धरान कुरुप र बन्जर शहर बन्न बेर छैन र विराटनगरदेखि शहर फैलिँदै आएर वृहत् शहरभित्र दुहवी, खनार, इटहरी र तरहरा समाहित हुँदै गए जस्तै धरान पनि ओझेलमा पर्न बेर लाग्दैन।
हामी बसेको होटेल धरानको बीच भागमा रहेको चतरालाइनको पश्चिमी किनारमा रहेकोले त्यहाँबाट उकालो हिँड्दै हिँड्दै लेखनाथचोक, गणेशमानचोक र धरान रंगशाला हुँदै जीरो प्वाइन्टसम्म नै पुगेँ। हिजोआज कडा व्यायामको कारण मेरो स्वास्थ्यमा क्रमिक सुधार भएकोले हुन सक्छ, यसपालीको उकालो हिँडाईमा पनि म त्यति थाकिनँ।
त्यहाँको एउटा चिया पसलमा चियाको चुस्की लिएपछि ओरालै ओरालो हिँड्दै देवकोटा (लक्ष्मी) चोक हुँदै दूरसञ्चारचोक, छाताचोक र अन्तिममा भानुचोक पुगेर मेरो आजको व्यायाम रूपी हिँडाईलाई टुङ्ग्याएँ। बाटोमा पहिलेका चिनाजानीका केही मानिसहरूसँग पनि भेटघाट भयो। निकै पछिको रमाइलो जम्काभेट।
भानुचोकमा अवस्थित घण्टाघर, भूकम्प स्मारक र पार्क परिसर म जागीरे भएर धरानमा बस्ने समयतिर निर्माण भएको हो। घण्टाघरको निर्माणको निम्ति मैले जागीर खाएको संस्थासँग निकै कडा वहस गरेर मनाए पछि राम्रै रकम सहयोग स्वरुप उपलब्ध गराएको थिएँ।
घण्टाघर परिसरमा रहेका विश्राम गर्ने अग्रपंक्तिमा रहेका कङ्क्रीटका बेन्चीहरू मध्येको एउटालाई मैले आफ्नी माताको सम्झनामा स्थापना गर्न रकम खर्चेको थिएँ। आजसम्म पनि त्यो बेन्ची सकुशल माताको नामसहित विराजमान रहेछ। खुशीले मन भावविभोर भयो।
केही बेर माताको नाम हेर्दै मनमा उहाँको स्नेह र आफूले उहाँ प्रति गरेका राम्रा र नराम्रा सबै व्यवहार सम्झँदै खुशी र दुखी बन्दै मनमनै उहाँसँग सबै थोकको निम्ति अनुगृहित हुनुका साथै भूल र गल्तीको निम्ति क्षमा याचना गरेर बाहिरिएँ। आज उहाँ यस संसारबाट बिदा हुनु भएको ठ्याक्कै २९ वर्ष भएछ।
धरानको भूकम्प स्मारक, घण्टाघर र पार्क निर्माणमा धरान हङकङ मञ्च र अन्य धेरै व्यक्ति र संस्थाको ठूलो धनराशी खर्च भएको छ। घण्टाघरको स्वरुप त हङकङको घण्टाघरसँग धेरै मिल्दो जुल्दो छ, मात्रै अलिक होचो। यसको निर्माणमा धरानका पुर्वमेयर मनोज मेयाङ्ग्वोको ठूलो परिश्रम परेको छ।
निर्माण अवधिभर म उनीसँग भेट्न निर्माणस्थलमा पुगीरहन्थेँ र धरानको विकास बारे छलफल भइरहन्थ्यो हामी बीच। एकदिन उनले घण्टाघरको उद्घाटन धरान महोत्सवको अवसर पारेर भीसी रामबहादुर बेघा लिम्बुको हातबाट गराउने तथा सो समारोहमा बजाउन धरान बारेको एउटा गीत तयार गर्नु पर्ने कुरा बताए।
यो भन्दा केही समय पहिले मैले भेडेटार बारेको म्युजिक भिडियो आफ्नै रचना, स्वर तथा संगीतमा तयार गरेकोले सोबाट प्रभावित भएर उनले धरानको गीत बनाउने काम मलाई सुम्पे। धुन तयार भए पछि केही दिन धरानका युवा रचनाकार गोपाल देवानले यसको शव्द तयार गरे।
धराने गायकहरूलाई नै यो गीत गाउन लगाउने सोच भए पनि समयको अभावले गर्दा यो गीत मेरो, मेरी पत्नी रजनी र छोरी कृपाको स्वरमा रेकर्ड हुन पुग्यो। युट्युबमा अङ्ग्रेजीमा ‘कपिल लोहनी’ टाइप गरेर त्यो भित्र ‘यो शहर धरान शहर’ दाबे पछि यो गीतको म्युजिक भिडियो हेर्न सकिन्छ।
घण्टाघरको उद्घाटनको निम्तो दिन मनोज मेयाङ्ग्वोको साथमा अन्य पदाधिकारी सहित म पनि दमकमा भीसी रामबहादुर लिम्बुलाई भेट्न गएको थिएँ। घण्टाघरको उद्घाटनको दिन धरान शहर नै घन्किने गरी बजाइएको त्यो गीतले आजसम्म पनि आफूलाई धरान कै स्थायी बासिन्दा भए जस्तो अनुभूत गराउँछ।
एउटा कर्मचारी भएर धरानमा लामो समय बसेको भए पनि धरानले मेरो यस्तै योगदानको कदरस्वरुप त्यसपछिको एउटा धरान महोत्सवमा मलाई सम्मान समेत गरेको थियो। यसरी धरान महोत्सवमा सम्मान पाउने म नै पहिलो गैरधराने बासिन्दा हुन पुगेछु।
भानुचोकबाट पुतली लाइनतिर पस्ने वित्तिकै ठूलो भिड देख्नमा आयो। सयौँ बच्चा, युवा र वृद्धवृद्धाहरू दौड प्रतियोगितामा भाग लिन तयारी अवस्थामा बसिरहेका रहेछन्। यस्तो नियमित बनाइएको दौड प्रतियोगितालाई ‘धरान रन’ नाम दिइएको छ र यो दौड भानुचोकबाट शुरु भएर चतरालाइन हुँदै उत्तरतिरको उकालो समातेर धरान रङ्गशाला नाघेर बिजयपुरको डाँडो हुँदै पिण्डेश्वर महादेवस्थानबाट तल ओर्लेर पुनः भानुचोकमा आएर टुङ्गिँदो रहेछ। एक प्रकारले यो धरानको मिनी म्याराथुन नै हो।
यसपालीको धरान रनको उद्घाटन मेयर हर्क साम्पाङले गर्न लागेका रहेछन्।
केही बेर उनीसँग सडकमा नै गफ हुन पायो। धरानको लागि लगेको एक प्रति पुस्तक उनलाई उपहारस्वरुप दिएपछि उनले अकस्मात ‘कपिलज्यू, तपाईं त ब्याङ्कर, धरानको बारेमा गीत लेख्ने र यहाँका सबैले चिन्ने व्यक्ति र अब त लेखक पनि बन्नु भएछ। यो सब गर्ने समय र जाँगर कताबाट पलाएको हो कुन्नि।
बरु संगीतमा लाग्ने र गीतार बजाउने चाहिँ तपाई र मेरो उस्तै बानी रहेछ’ भन्दा म छक्क परेँ। उनले हाम्रो बैंकको शाखा भएको घर देखाउँदै त्यतिबेला उनीहरू दुई-तीन जना साथी मिलेर सोही बैंकको भूमिगत तल्लामा अंग्रेजी तथा अन्य ट्युसन पढाउने गरेको कुरा सुनाए पछि मैले उनलाई ठम्याउन सकिहालेँ। खुशी लाग्यो। काममा मात्र होइन, कुरामा पनि उनी रमाइला नै रहेछन्।
धरानमा पुस्तकको लोकार्पणको कार्यक्रम स्थगित गर्नु परे पनि त्यो दिन बिहानैदेखि आफूले चिनेका साथि तथा हितैषीहरूका घर घर र पसलहरूमा गएर भेट्दै पुस्तक विक्री गरेँ। भेटेका सबैले खरिद गरेर सद्भावना व्यक्त गरे। कतिपयका छोराछोरी हाल अष्ट्रेलियामा अध्ययनरत रहेछन्।
अष्ट्रेलिया र युरोप भ्रमण बारे कै संस्मरण भएकोले उनीहरूले सो पुस्तकको एक प्रति छोराछोरीलाई पठाउने कुरा पनि बताए। यो पुस्तकको बहानामा नै धेरै साथिहरूसँग यसपाली भेट्ने मौका मिल्यो। केही अनन्य मित्रहरूले त दश प्रतिसम्म पनि खरिद गरेर साथिहरूलाई उपहार दिने कुरा बताए।
पुतलीलाइनमा नै एक जना विकास खड्का नामका युवा स्वास्थ्य परीक्षण सम्बन्त्री व्यवसायी छन्। उनले आजभन्दा पच्चिस वर्ष अघि आफू २० वर्ष पनि पुग्दा नपुग्दै एक औषधिको पसलबाट व्यवसाय शुरु गरेर केही वर्षमा नै स्वास्थ्य परीक्षणशाला समेत खोलेका थिए।
हामीले हेर्दा हेर्दै उनले काठमाडौँ, विराटनगर, झापा आदि ठाउँबाट विशेषज्ञ चिकित्सकहरूलाई महिना वा हप्तामा एक पटक आउने गरि बोलाएर उनीहरूमार्फत विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी सेवाहरू प्रदान गर्न शुरु गरेका थिए।
उनले यो व्यवसाय आफ्ना दिदी तथा भिनाजुबाट सिकेका थिए। हाल उनका परिवारका अधिकांश सदस्यहरू यो सेवा व्यवसायमा लागेर एक सानो अस्पताल, आधुनिक उपकरणहरूले सुसज्जित परीक्षणशाला र एक आँखा अस्पताल समेत सञ्चालन गरेर व्यस्त जीवन व्यतित गरिरहेका छन्।
मुलुकका युवाहरूले मेहनत गरेमा र अवसर पनि पाएमा दुई तीन दशकमा नै निकै सम्पन्न र सफल व्यवयासी हुन सक्दा रहेछन् भन्ने कुरा विकासले सावित गरिदिएको छ। आज उ जस्तै उसको छोरा विशेष, भाइ कैलाश र भाञ्जा दिपेश पनि यो क्षेत्रका जल्दा बल्दा हस्ती भएर धरानमा निकै नाम र दाम कमाउन सफल भएका छन्। यो परिवारसँग पनि मेरो आमाले नजन्माइकनै बनेको भाइभाइको सम्बन्ध छ।
विकासले मेरो यसपालीको भ्रमणमा निकै सहयोग र सद्भाव देखायो। उसैको यातायातका साधनहरूमा म र मेरो साथि प्रकाशले धरान वरपरका विभिन्न स्थानहरूको भ्रमण गर्न सक्यौँ। यात्रा गर्दा खानपान र बास भन्दा पनि बढी यातायातले पिरोल्ने गर्दछ। यस्तो अवस्थामा साथिभाइले यातायातको गर्जो टारीदिँदा निकै सुविधा हुन जान्छ।
यसपालीको भ्रमणमा हाम्रो अर्को मुख्य काम भनेको एकल व्यक्तित्व समाज नेपालको सुनसरी र मोरङ शाखा (च्याप्टर) स्थापना गर्नु पनि थियो। विभिन्न कारणवश श्रीमान् वा श्रीमती गुमाउन पुगेका, पारपाचुके गरेका र विवाह नै नगरी बसेका अधवैँशे र वृद्धवृद्धाहरूको एउटा साझा संस्था खोलेका छौँ हामीले।
सोही संस्थालाई राजधानीबाट बाहिरसम्म फैलाउँदै लग्ने सिलसिलामा हामी यसपाली धरान र विराटनगर पुगेका थियो। दिउँसोको खाना पश्चात् हामी सोही संस्थाको सुनसरी शाखा स्थापनाको निम्ति हाम्रा दाजु युवराज राईको छोराले शुरु गरेको कफीशपमा जम्मा भएर छलफलमा व्यस्त भयौं।
धरानका केही प्रवुद्ध एकल व्यक्तिहरूले यो संस्थामा नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता जनाएपछि हामीले एउटा तदर्थ समितिको खाका तयार गर्यौं र केही अन्य एकल व्यक्तिहरूले साधारण सदस्यता पनि लिने पक्का भयो।
अबेलासम्मको यो छलफलमा हामीले निकै कप कफी पियौँ होला। हिजोआज नेपालमा कफीको अग्र्यानिक उत्पादन विभिन्न जिल्लामा हुने गरेको छ। नेपालको कफीको गुणस्तर र स्वाद पनि राम्रो छ। राजधानीमा मात्र होइन, कफी पिउने आदत नेपालका सबैजसो शहर र गाउँहरूमा पनि परिसकेको छ।
आज नेपालमा कफी प्रेमी मात्र होइन, कफी उद्यमी, कफीका आधुनिक मेसिन र कफीसम्बन्धी तालीम दिने व्यक्तिहरू पनि हजारौँको संख्यामा छन्। कैयन् युवाहरू विदेशमा कफी उद्यममा नै काम गरेर बसेका छन्। नेपालमा कफीलाई ज्यादै लोकप्रिय बनाउन हिमालयन जाभाको ठूलो हात छ।
आज हिमालयन जाभाका धेरै शाखाहरू मुलुकभित्र र बाहिर पनि स्थापित छन्। नेसक्याफे आदिजस्तै हिमालयन जाभा पनि एक अति लोकप्रिय ब्रान्ड बन्दै गएको छ। धरान र विराटनगरमा पनि यसपाली कफी कल्चर निकै फस्टाएको देखेर मजस्तो कफी प्रेमी खुशी नहुने त कुरै भएन।
बेलुकी होटेलमा गएर निकै बेर आराम गर्यौं। दिनभरीको थकाइले राम्रै निद्रा लागेछ बेलुकीको समयमा पनि। राती राम्रो लुगा र कोट लगाएर निकै ठाँटिएर भाइको छोराको बिहेमा सरिक हुन गयौँ नजिकैको एउटा पार्टी प्यालेसमा।
करिव एक दशक अघि काठमाडौँको एउटा पाँच तारे होटेलको सेफको नोकरी छोडेर धरानमा सेकुवा पसल खोलेर बसेका एक स्थानीय व्यवसायीले पनि कठोर मेहनत र मासुका निकै स्वादिला परिकार पस्केर व्यापार बढाउँदै आज आफ्नै घडेरी किनेर त्यसमा आधुनिक पार्टी प्यालेस नै स्थापना गरिसकेका रहेछन्।
केही पुँजी, अथक मेहनत, बजारको पहिचान गर्न सक्ने खुबी र केही हदसम्म भाग्यले पनि साथ दिएमा आजका युवाले नेपालमा नै बसेर ठूलो फड्को मार्न सक्ने रहेछन् भन्ने कुरा यस्ता सफलताका कहानीहरूले सिद्ध गर्दछन्।
मिठा मिठा परिकारहरूको स्वाद लिनुका साथै धरानमा बस्दाका धेरै साथि तथा शुभचिन्तकहरूसँग निकै पछिको भेटघाट र भलाकुसारी पछि हामी झण्डै आधारातमा हिँड्दै आफ्नो होटेल पुग्यौँ। मदिरापान गर्न छोडिसकेका हामीले होटेल पुगेर लब्बीमा केही बेर सुस्ताउँदै दिनभरीको व्यस्तताको लेखाजोखा गरे पछि आआफ्ना कोठामा पसेर घुस्रुक्क सुति पनि हालेछौं।
क्रमश…
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
Facebook Comment