एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।
सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रुपमा अघि बढ्ने दाबी गरे।
‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ। धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ, गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन,’ उनले स्पष्ट पारे।
अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो।
‘यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो। कुनै बिदेशी प्रभाब र उक्साहट छैन,’ थापाले थपे।
आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन्। कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य , रामबिलास मेहतालगायतले बोलेका थिए।
Facebook Comment