पर्यटकविहीन रमणीय बाम्त, सुनसान बजार

डिसी नेपाल
७ जेठ २०८२ १३:३२
136
Shares

रामेछाप । रामेछापको सुन्दर बजार बाम्ती भण्डार प्राकृतिक हिसाबले धनी छ। उमाकुण्ड गाउँपालिका–२ बाम्तीको बाम्ती उपत्यका अति सुन्दर र मनोरम छ।

बिहान उठ्ने वित्तिकै हिमाल देखिन्छ, प्राकृतिक वनस्पति, जङ्गल अनि मिलेको फाँट बाम्ती हेर्न पनि रमाइलो छ। तर, पनि यतिबेला बाम्तीभण्डार सुनसान छ।

कुनै बेला पर्यटकहरू खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डार अहिले सुनसान छ। दोलखाको जिरीबाट बाम्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु छिर्ने रुट कायम भएको समयमा बाम्तिमा जता हेर्यो त्यतै विदेशी पर्यटक देखिन्थे, भेटिन्थे। होटेलहरू भिडभाड हुन्थे। होटेलमा पर्यटकहरू नअटाएपछि बाहिरै टेन्ट गाडेर बस्थे। बिहानदेखि राति अबेरसम्म बाम्तीमा विदेशी पर्यटकको लर्को हुन्थ्यो।

अहिले सोलुखुम्बु जाने पर्यटकहरू रामेछापको मन्थलीबाट सोझै प्लेन चढेर र बसमा जानेहरू पनि सोझै सोलुको सदरमुकाम सल्लेरीसम्म पुग्न लागेपछि बाम्ती लगायतका पर्यटक हिँड्ने रुटहरू सुनसान छन्। ‘पहिला पर्यटकहरूले बाटो पाई नसक्नु हुन्थ्यो, होटेलमा बस्ने ठाउँ पाउँदैन थिए, अहिले बिहानदेखि बेलुकासम्म सुनसान छ, व्यापार व्यवसाय ठप्प छ,’ स्थानीय ज्ञानबहादुर क्षेत्रीले भने।

बाम्तीको जस्तै हालत छ सो रुटका पुराना चल्तीका बजार शिवालय, देउराली, किञ्जा लगायतको पनि। अहिले न होटेलमा बास बस्ने मान्छे छन् न बजारमा किनमेल गर्ने मान्छे छन्।

गाउँ गाउँमा सडक पुगेपछि स्थानीय उपभोग्य सामान पनि गाउँमा नै पुग्न लागेका छन्। त्यसैले बजारमा किनमेल गर्ने स्थानीय उपभोक्ता पनि न्यून छन्। ‘उही बजारका र बजार क्षेत्रका मानिसहरूको किनमेल गर्ने थलो बनेको छ बजार, बसमा आउने र फाट्टफुट्ट बाम्ती घुम्न आउने मानिसहरूको लागि बास बस्ने ठाउँ बनेका छन् होटेलहरू,’ क्षेत्रीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *