इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा भीषण आगलागी, नियन्त्रणमा चुनौती
विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरुपति प्लाइउड उद्योगमा गएराति भीषण आगलागी भएको छ। राति साढे २ बजेबाट सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन्। दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन्।

तर उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल, कागजलगायत अत्यन्तै ज्वलनशील सामग्रीहरू भएकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार उद्धार र नियन्त्रण कार्य अझै जारी छ र आवश्यक सुरक्षात्मक सावधानी अपनाउँदै अग्निनियन्त्रणको प्रयास भइरहेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment