पनौतीमा आजदेखि हिले-जात्रा

काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले-जात्रा आजदेखि सुरु भएको छ।
परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ। साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीरजात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ।
त्यसैगरी जात्राको तेस्रोअर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ। जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछागर्ने कार्यका रुपमा अबीरजात्रा गरी रथ जुधाइने गरिन्छ। लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्।
धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रुपमा लिइने गरिन्छ। इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो। विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो। तर, पछिल्ला केही बर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ। कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाईं सफल हुने जनविश्वास गरिन्छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ। स्थानीयले जात्रा अवधिभर प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम राखी आफ्ना पाहुना बोलाइ स्वागत सत्कारकासाथ भोज गर्छन्। त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहीआएको छ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्राअर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन्। जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदासमेत दिएको छ।
Facebook Comment