अहमदावाद विमान दुर्घटना

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

डिसी नेपाल
२९ जेठ २०८२ २१:४०

अहमदावाद। अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेका छन्।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७/८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, ‘प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।’ रिपोर्टका अनुसार जिवितै उद्धार हुने व्यक्तिको नाम विश्वास कुमार रमेश रहेको छ।

मलिकले थपे, ‘मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।’

प्रहरीले अन्य यात्रु जिवित बच्ने सम्भावना एकदमै न्युन रहेकाे बताएकाे छ। हालसम्म दुइ सय भन्दा बढी यात्रुकाे शव फेला परेकाे छ। विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेका थिए। जसमध्ये एक जनाकाे जिवितै उद्धार गरिएकाे हाे।

एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगाली नागरिक रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *