गणेश रसिकलाई सम्झँदा

कपिल लोहनी
३१ जेठ २०८२ ७:०७

भोजपुरको नौलागाउँमा २००४ साल असोज ४ गते जन्मेका गणेशकुमार राईले युवावस्थामा पुगेर साहित्य र कलाका सर्जक हुन शुरु गरे पछि आफ्नो नामको पछाडि ‘रसिक’ उपनाम राख्न थालेका हुन्।

पछि उनको परिवारजनले पनि ‘रसिक’ उपनामलाई पछ्याएको देखिन्छ। जीवनमा निकै आरोह र अवरोह पार गर्दै र अधिकांश समय गीत-संगीत, कला र साहित्यको क्षेत्रमा नै समर्पित भएर आखिर २०८२ साल जेठ १९ गतेको दिन काठमाडौंको एक अस्पतालमा आफ्नो नश्वर देहलाई त्याग गरेर अनन्तमा बिलाए।

आज उनी हामी सामु नभए पनि उनले आफूलाई सम्झाइरहने थुप्रै गीत, संगीत र साहित्य खासगरी नेपाली जनमानसमा छोडेर गएका छन्।
सच्चा श्रष्टा कसैको पेवा हुँदैन, न नै उ कुनै जाति, वर्ग वा मुलुक विशेषको मात्र हुन सक्दछ। विभिन्न परिवेशमा उसले आफ्ना कृतिहरूको सिर्जना गर्छ र प्रस्तुत पनि गर्छ।

तर मुण्ड सोच भएका नरपशुहरूले भने श्रष्टालाई पनि आआफ्ना निच दृष्टिबाट हेर्ने गर्दछन् र विश्वमा हुँदै नभएको प्रगतिशील, प्रजातान्त्रिक, निरंकुश जस्ता विशेषणको प्रयोग गरेर श्रष्टाका सिर्जनाको तौहिन गर्नमा लागि पर्दछन्। रसिकको शवमा अन्तिम श्रद्धाञ्जली गर्न पुगेको आर्यघाटको भीडमा सरकारी पक्ष वा राजनीतिक जीवहरूको नगण्य उपस्थितिले गणेश रसिकलाई पनि ती तत्वले त्यस्तै दोषी चश्माले हेरेको प्रष्टै पार्‍यो।

पञ्चायती व्यवस्थाको उत्कर्षको समयमा आफ्नो युवावस्था बिताउनुका साथै जागीरे जीवन बिताउनु न रसिकको न अन्य तत्कालीन सर्जकको भूल थियो।

केही राजमुकुट र राजारानी जस्ता शव्द भएका राष्ट्रवादी गीत जस्तै ‘हटी होइन, डटी लड्ने’ आदिसँग सम्बद्ध भए भनेर वा त्यतिबेला प्रशासनका विभिन्न निकायमा काम गरे भन्दैमा उनलाई नराम्रो दृष्टिले हेर्नु भनेको साहित्य, कला र दर्शनको अवहेलना गर्नु हो।

उनले सिर्जना गरेका राष्ट्रवादका गीतहरू आजको समयमा अझ बढी सार्थक हुन सक्छन्। तर त्यस्ता गीतहरूलाई पछिल्ला शासकहरूले गर्भमा नै लगेर गाडिदिएका छन्।

हुँदा हुँदा नयाँ शिक्षा योजना अन्तर्गत प्रत्येक कक्षाका नेपालीका पुस्तक महेन्द्रमालाहरूमा गणेश रसिकलगायतका श्रष्टाले सिर्जना गरेका राष्ट्रिय गीतहरू जस्तै ‘हामी धेरै साना छौँ, हाम्रो मुटु सानो छ’ आदिलाई पनि पाठ्यपुस्तकबाट हटाए भने निकै मेहनतका साथ तयार गरिएको नयाँ शिक्षा योजनामा भएका त्रुटीलाई संशोधन गरेर निरन्तरता दिनु पर्नेमा सो शिक्षा प्रणालीलाई नै फोहरको डङ्गुर सरी मिल्काइ दिए। फलस्वरुप आज नेपालकोे शिक्षा प्रणाली धरासायी नै हुन पुगेको छ।

सोभियत संघको पतन पछिको नयाँ परिवेशमा रुसका नयाँ शासकले त्यहाँ राष्ट्रगान बदले पनि सोको धुन भने पुरानै कायम राखे, किनकी पुरानो धुन नै अति कोमल र मर्मस्पर्शी तथा लोकप्रिय थियो।

तर नेपालको पुरानो राष्ट्रिय गानको धुन अति सुमधुर भए पनि त्यसको शब्दसँगै त्यसलाई पनि डम्प गरियो र नयाँ धुन बनाउन लगाइयो। नयाँ धुन राम्रो भए पनि पुरानोमा पनि निकै दम थियो।

कुनै बेला लेकाली समूहले नेपालमा निकै ख्याती कमाएको थियो। गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला र निर्मला श्रेष्ठ जस्ता अति परिपक्व गायक तथा स्रष्टाहरूले मुलुकभरका लोकभाका र शब्दहरूको प्रयोग गरेर सिर्जना गरेका गीत-संगीतमा राष्ट्रियता, मुलुक र समाज प्रतिको माया लुकेको हुन्थ्यो भने ती त्यति नै मनोरञ्जक पनि हुन्थे।

उनीहरूको सामुहिक र व्यक्तिगत प्रयासमा ‘मलाई प्यारो लाग्छ’, ‘तराइ हेर कति राम्रो’, ‘यो नेपाली ठिटो’, हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ’ ‘घरबेटी नानी आँगनमा देउन मलाई बास’, ‘कुखुरी काँ, रातो भाले क्वाएँ क्वाएँ सुत्केरीलाई ख्वाएँ’, ‘ए है, है आज भेँडा बाख्रा कता लाने’; ‘दाई त काले भाइ पनि काले काले काले मिलेर खाउँ भाले’; ‘नखेल्नु जुवा र तास’; धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै; ‘नुन जस्तो बिल्ने म धेरै तिरको भएँ तर कसैको भइनँ जस्तो छ’; कति दिन बाँच्नु यो हुस्सुले छोपेको शहरमा’; ‘ओ याङ्जी नाना’ जस्ता सयौँ गीतहरू आज पनि जनजिब्रोमा टाँसिएर बसेका छन्। लेकाली समूहको शुरुवात भएको पनि ५० वर्ष भइसकेछ। त्योभन्दा अगाडि गणेश रसिक केही महिना ‘राल्फा’ समूहसँग पनि आवद्ध थिए।

लेकाली समूहका महत्वपूर्ण सदस्य रहेका उनमा अन्य सदस्यमा जस्तै आफ्नो मुलुक प्रतिको माया, स्थानीय संस्कार र संस्कृतिको जगेर्ना गर्ने खालका शव्दको चयन गर्न सक्ने शक्ति र त्यस्ता गीतमा मनमोहक तथा सरल संगीत हालेर गाउने पनि उत्तिकै खुबी थियो।

त्यसैले नै यो समूहलाई देशभक्त स्रस्टाहरूको समूह भनेर चिनिन्थ्यो। गणेश रसिक र हिरण्य भोजपुरे नेपालका गाउँ गाउँमा घुम्ने गर्दथे र त्यहाँका कथा, व्यथा र लय तथा गाउँलेका मर्मलाई आत्मसात गरेर त्यस्ता गीतहरूको संकलन गर्दथे र सबैले बुझ्ने भाखा र शव्दमा त्यस्ता गीत-संगीतलाई प्रस्तुत गर्दथे।

त्यतिबेलाको विकट भोजपुरमा जन्मेका गणेश रसिकको बाल्यकाल धरान, ओखलढुङ्गा र भोजपुरमा बित्यो भने केही समय बिराटनगरमा अध्ययनको निम्ति बसेपछि उनी कलिलै उमेरमा काठमाडौँ आए। उनका बाजे हर्कराज राई वृटिस सेनाका क्याप्टेनको दर्जासम्म पुगेका थिए र दुवै विश्वयुद्धमा लडेका थिए। पछि २००७ सालको क्रान्तिमा पनि भाग लिएका थिए।

रसिकका पिता नरोत्तम राईलाई भने उनका बाजेले त्यतिबेलाको पूर्वको शिक्षाको केन्द्र रहेको दार्जिलिङमा पढ्न पठाएका थिए। त्यतै उनको सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला आदिसँग हिमचिम बढेर साहित्यमा दखल बढेको थियो र गीत गाउने पनि भएका थिए। यी साथीहरू कै पहलमा उनले आफ्नो गाउँमा पुस्तकालय समेत स्थापना गरेका थिए।

गीत-संगीतको माध्यमबाटै जनताको मन जितेकाले र दजर्नौं कालजयी लोक लयका गीतको सिर्जना गरेकाले आजसम्म पुराना तथा नयाँ पिँढीले उनलाई सम्झिरहने गरेका छन्। ७८ वर्षको उमेरमा उनको हालै निधन हुँदा लाखौँ आँखा रसाउन पुगेका थिए।

कसैको करकाप विनै पशुपतिनाथको मन्दिर परिसरको विद्युतीय शवदाहस्थलमा उनलाई अन्तिम श्रद्धाञ्जली दिन भेला भएका नातेदार, संगीतकर्मी, कलाकर्मी, संगीतप्रेमी र आमजनताको भीडलाई नजिकबाट नियाल्दा त्यस्तै भान भएको थियो।

उनी विगत केही वर्षदेखि प्रोस्टेट क्यान्सरको कारण निकै बिरामी परेका थिए। तर पनि उनको सिर्जनशीलतामा त्यति कमी भने आएको थिएन। रोगसँग लडिरहेकै बेलामा पनि उनी आफूलाई आमन्त्रण गरेका विभिन्न समारोहहरूमा सरिक हुने गर्दथे र लेखन कार्यलाई पनि जारी नै राखेका थिए। गणेश रसिकका कैयन् कृतिहरू पुस्तकाकारमा बजारमा भेटिन्छन्।

‘गणेश रसिकका गीतहरू’, ‘दशगजामा उभिएर’, ‘क्षितिजलाई खोज्दा’, ‘आकाश गङ्गाको ओतमुनि’, ‘सारंगी भित्र’, ‘पेरुङ्गो’, ‘जब सिस्नोहरू टेक्दै हिँडेँ’ आदि कृतिहरू निकै लोकप्रिय भएका छन्। उनका ‘अन्तराल’ भाग १ र २ तथा ‘मेरो अतित’, ‘तिम्रा सपनाहरू’ र ‘साइँली’ जस्ता गीति एल्बमहरू बजारमा आएका छन्।

२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेक ताका भर्खरै शुरु भएको लोकदोहोरी प्रतियोगिताको निर्णायक मण्डलमा रहँदा गणेश रसिकले देखाएको निष्पक्षताको कदर त्यतिबेलाका अन्य निर्णायक तथा आयोजक खेलकुद परिषद्का पुराना कर्मचारीहरूले अझसम्म पनि गर्ने गरेका छन्। गीतसंगीतमा मात्र नभइ उनले प्रशासनिक कार्यमा पनि दक्षता देखाएका थुप्रै उदाहरणहरू छन्।

त्यतिबेला कै कुरा हो, हामी स्कुले विद्यार्थी नै छँदा उनी पुतलीसडकबाट धोवीधारा जाने बाटोमा हालको स्टार मल भएको भवन निरैको गल्लीमा डेरामा बस्ने गर्दथे। उनको घरको छिमेकमा नै त्यतिबेलाका चर्चित गायक जोडी कल्याण रिमाल र बिजु रिमालको घर थियो।

उनीहरूका छोराछोरी यो पंंक्तिकारका निकै नजिकका साथी भएकाले त्यहाँ जाँदा लेकाली समूहका गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला र निर्मला श्रेष्ठ र अन्य कलाकार पनि त्यहाँ गएर गफिइरहेका वा संगीत साधना गरिरहेका भेटिन्थे।

गणेश रसिक त त्यहीँ नजिक रहेको हाम्रो घरमा मेरा संगीतका सौखिन दाजु कहाँ आइरहन्थे। हिरण्य भोजपुरेको घर त्यतिबेला पुतलीसडकमा र उर्मिला र निर्मला श्रेष्ठको घर कमलादीमा थियो।

त्यो टोलमा साहित्यकार कुमार नेपाल, फिल्म निर्माता यादव खरेल, उनका भाइ गायक राम खरेल र कान्छा भाइ फुटबलर तथा प्रहरी अधिकृत अच्युतकृष्ण खरेलको घर पनि थियो भने अलिक पर रेडियो नेपालका प्रख्यात समाचार वाचक मधुकर बस्नेतको घर।

यी सबै लेकाली समुहसँग निकै परिचित थिए। त्यतिबेला धेरै कलाकारहरू पुतलीसडक-धोबिधारा क्षेत्रमा डेरा गरेर बस्ने गर्दथे। पारिजात र सुकन्याको डेरा पनि पुतलीसडकमा नै थियो। पछि गणेश रसिक आफ्नो जीवनको उत्तराद्र्धमा राजधानीमा छँदा भक्तपुरको बालकोटमा बनाएको घरमा बस्ने गर्दथे।

उनी रत्न रेकर्डिङ संस्थानको महाप्रवन्धक भएको बेलामा धेरै गायकहरूका गीतहरू कलकत्तामा समेत रेकर्ड गराएर भिनाइल रेकर्डको रूपमा बजारमा ल्याएका थिए। त्यस्तै नेपालको गीतसंगीत जगतको पहिलो रियालिटी शोको रूपमा उनले सोही संस्थानको तत्वावधानमा ‘प्रतिभाको खोजी’ कार्यक्रम शुरु गरेका थिए।

उनको पदावधि सकिए पछि दीपक जङ्गम सो संस्थानको महाप्रवन्धक भए तथा उनले पनि सो वार्षिक कार्यक्रमलाई निरन्तरता दिएका थिए। पछि पछि क्यासेटका चक्का बजारमा आउन थाले पछि प्रतिभाको खोजीमा विजयी हुने कलाकारहरूका गीत भिनाइल रेकर्डको साटो क्यासेट टेपमा उत्पादन हुन थालेको थियो।

केही हप्ता अघि रेडियो नेपाल परिसरमा काम विशेषले जाँदा पहिले रत्न रेकर्डिङ संस्थान रहेको निकै आकर्षक रातो रङको भवन जीर्ण अवस्थामा देख्दा मन खिन्न भएको थियो भने त्यतिबेलाका यादहरू ताजा पनि भएका थिए।

गणेश रसिक सांस्कृतिक संस्थानको पनि महाप्रवन्धक भएका थिए। त्यतिबेला पुरानो नाच घर थियो आजको भव्य भवनको ठाउँमा। सो पुरानो भवन भत्काएर नयाँ हल निर्माण गर्न रसिक कै पालामा पहल शुरु भएको थियो तर त्यो निकै पछि मात्र साकार हुन सक्यो। दौरासुरुवालमा चटक्क सजिएर कालो टोपीमा रसिक निकै आकर्षक व्यक्तित्वका साथ देखा पर्दथे।

कला क्षेत्रमा मात्र नभई प्रकाशन क्षेत्रमा पनि उनको नेतृत्वदायी भूमिका रह्यो। कुनै समय उनले त्यतिबेलाको निकै प्रतिष्ठित साझा प्रकाशनमा पनि अध्यक्ष तथा महाप्रवन्धकको भूमिका सफलताका साथ निर्वाह गरेका थिए। आफू पनि साहित्यमा निकै लगाव भएका व्यक्ति भएकाले उनले धेरै साहित्यकारहरूका कृतिहरू प्रकाशन गर्ने बन्दोवस्ती मिलाइदिएका थिए।

पछि उनी आफ्नै गाउँमा फर्केर निकै समय उतै बसे। त्यो समयमा त्यहाँ रेडियो फिक्कल एफ एम पनि चलाए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको विभाजन पश्चात् स्थापना भएको संगीत–नाट्य एकेडेमीमा पनि गणेश रसिक केही समय नेतृत्वदायी भूमिकामा रहेका थिए।

केही समय अघिको एउटा भेटमा गणेश रसिकले आफूले जीवनभर आर्जेर जम्मा गरेको केही सिमित रकमलाई त्यतिबेला सस्ता जमिन खरिदमा लगानी गरेको र आज आएर तिनै जमीनको भाउले आकाश छुन थालेकोले आफ्नी पत्नीको र आफ्नो समेत उपचारमा निकै सहयोग मिलेको कुरा बताएका थिए।

धेरैले उनलाई उपचारमा सघाउने इच्छा जाहेर गर्दा पनि उनले आफूसँग खर्च गर्ने रकम हुँदा हुँदै अरुको मद्दत लिन नहुने कुरा बताएका थिए। उनको विचारमा नेपालमा क्यान्सरका राम्रा अस्पतालहरू खुले पनि औषधी भने निकै महँगा भएकोले आमजनताको पहुँचबाट बाहिर रहेको बताए।

उनले नै महिनाको १ लाखभन्दा बढी रकम औषधीमा खर्चनु पर्दथ्यो रे। क्यान्सर जस्तो रोगसँग लड्न तन, मन र धन सबै खुलेर खर्च गर्न सकेमा मात्र केही हदसम्म सहज रूपमा जीवन लम्ब्याउन सकिने कुरा उनले बताएका थिए।

एकल व्यक्तित्व समाजको समुद्घाटन समारोहको बेला केही समय अघि प्रज्ञाभवनमा अन्य एकल व्यक्तित्वहरू जस्तै मदनकृष्ण श्रेष्ठ, प्रा.डा. दयाराम श्रेष्ठ, प्राज्ञ बाबा बस्नेत, संसद्की उपसभामुख इन्दिरा राना मगर आदिसँग उभिएको समयमा यो पंक्तिकारलाई बधाई दिँदै एकल व्यक्तित्वहरूको निम्ति यो निकै राम्रो संस्थाको स्थापना भएको र आफू पनि यसमा सक्रियताका साथ लाग्न चाहेको तर आफ्नो बढ्दो उमेर र रोगले गर्दा अब सक्रिय भएर लाग्न नसक्ने भएकोले आशिर्वाद र परेको बेला सल्लाह सुझावसम्म दिन सक्ने कुरा बताएका थिए।

अध्यक्षको रूपमा यो पंक्तिकारले पनि तत्कालै उनलाई यो संस्थाको संरक्षकको रूपमा हेरेको कुरा बताउँदा उनले मुस्कुराएर स्विकृति दिए जस्तो गरेका थिए।

केही समय अघि हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको क्वाविनमा भतिजा र बुहारीको रेखदेखमा आराम गरिरहेका रसिकलाई भेट्न जाँदा निकै उज्यालो मुहारका उनले हाम्रो हात समाएर सुम्सुमाउँदै मुसुक्क हाँसेका र मृत्युसँग कुनै भय नभएको भावमा हामीसँग खुलेर कुरा गरेको क्षणको निकै सम्झना भइरहेको छ।

गणेश रसिकले जीवनमा आफ्ना तीन भाइ, पत्नी र छोराको अकाल मृत्यु भएको टुलु टुलु हेर्न वाध्य हुनु पर्‍यो। उनकी ४७ वर्षसम्म दुखसुखमा साथ दिएकी पत्नी नीरा शेरचन रसिक राईको वक्षस्थलमा क्यान्सर भएको र सोको सफल उपचार भइसक्दा पनि २०७८ सालमा कोरोनाको कारण निधन भएको थियो।

त्यस्तै उनका तीन भाइहरू मध्ये ठूला सम्मीको २०४० सालमा आत्महत्याको कारण, त्यस पछिका श्यामको २०५१ सालमा पिखुवा खोलामा डुबेर र कान्छा प्रजु, जो प्रहरी निरीक्षक थिए, उनको २०६० सालमा माओवादी भिडन्तमा निधन भएको थियो। उनका छोरा निमेशको ३५ वर्षको उमेरमा निधन भएको थियो। बाँकी रहेकी एक छोरी सिर्जा राई रसिक भने बेलायतमा बसोवास गर्दछिन्।

जीवनमा निकै हण्डर र दुख भोगेका उनले कसैसँग पनि आफू हारेको दुहाई भने कहिल्यै दिएनन्। जस्तै दुख वा सुखमा पनि उनको मुहारको मुस्कानमा कुनै फरक देखिएन। वास्तवमा उनी एक ज्यादै बलियो मनका व्यावहारिक व्यक्ति हुनुका साथै सकारात्मकतालाई अँगाल्न जानेका र सांसारिक वास्तविकतालाई बुझेका व्यक्ति थिए।

त्यसैले त उनी अन्तिम अवस्थासम्म पनि मनभित्रको बहलाई दबाएर भए पनि एक शालिन व्यक्तिका रूपमा मुस्कुराएर नै बाँच्न सफल भए। आज उनी नभए पनि उनले धेरै कृतिहरू मार्फत आफूलाई हामी बीच नै भएको आभाष दिलाएका छन्। आउँदा पिँढीले उनीसँग संगत गर्न नपाए पनि उनका गीत, संगीत र साहित्यबाट धेरै कुरा सिक्ने छन् र उनलाई आदरका साथ मनभित्र राख्ने छन् भन्ने आशा गर्न सकिन्छ।

– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *