गाउँ खाली, शहर भरी, काम नहुँदा जनता टिकटकमा दिनभरी

अनुसा थापा
४ असार २०८२ १०:४१

सार्वजनिक ठाउँ सबैको साझा हो। आकाशे पुल, मठमन्दिर, सडक, फुटपाथमा कसैलाई अवरोध गर्न पाइँदैन। अवरुद्ध गरेमा कानुनबमोजिम कारबाही भोग्नुपर्छ।

तर, पछिल्लो समय व्यक्तिहरुले कानुन नबुझेको हो कि नटेरेको ? बुझ्नै मुश्किल छ। पैदलयात्रीको आवतजावत भइरहने आकाशे पुल, फुटपाथ, सडकमा जताततै टिकटक बनाइरहेको देखिन्छ।

बाटो ढाकेर टिकटक बनाइन्छ। जसका कारण पैदलयात्रीलाई हिँड्न साह्रो सास्ती छ। मठमन्दिरको ढोकैमा टिकटक बनाइरहेको पाइन्छ। मान्छेलाई एक मीनेट समयको पनि महत्व हुन्छ। कुनै अफिस हिँडेका हुन्छन् त कुनै अस्पताल। कुनै कहाँ जान लागेका हुन्छन्। यस्तोमा ‘टिकटके’ हरुको कारणले उनीहरु समस्यामा पर्ने गरेका छन्।

एउटाले मोबाइल समाउने, अर्को आकाशे पुल ढाकेर बुरुकबुरुक उफ्रिने। आफ्नो कारणले अरुलाई कति डिस्टर्ब होला? सर्वसाधारणलाई कति असर पर्ला? समाजमा कस्तो प्रभाव पर्ला? कसैलाई मतलब नै छैन। बस्, बाटो छेकेर उफ्रिन पाए पुग्यो।

भनिन्छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन गर्नुहुँदैन।’ विद्यालयमा सानै कक्षादेखि यो पाठ सिकाउँदै आइएको छ। तर, यहाँ कसैलाई मतलब नै छैन। बुढापाकाले भन्थे, ‘बाँदरको हातमा नरिवल।’ अहिले त्यस्तै भएको छ। नेपालीको हातमा मोबाइल बाँदरको हातमा नरिवलजस्तै भएको छ। काम नगर्ने, दिनभर टिकटक बनाउने अनि काममा हिँडेकालाई पनि दुःख दिने।

आकाशे पुल, सडक, फुटपाथ टिकटक बनाउने ठाउँ हो। यहाँ जतिबेला पनि पैदलयात्रीको आवतजावत भइरहन्छ। अनि उनीहरुले टिकटक बनाउञ्जेल अरुचाँहि कुरेर बसिदिनुपर्ने ? आफ्नो कला देखाउनु राम्रो कुरा हो। तर, जतिबेला पनि टिकटकमै झुम्मिदा यसले समयको सत्यानाश गर्छ।

एकातिर टिकटक बनाउनेको समय त खेर जान्छ नै अर्कोतिर हेर्नेले पनि घण्टौं समय त्यत्तिकै खेर फाल्छन्। पछिल्लो समय कसैलाई पनि सार्वजनिक काम गर्नमा चासो र रुचि छैन। टिकटक हेरेर घण्टौं समय खेर फाल्नेहरुले सार्वजनिक काम गर्ने हो भने देशलाई कति फाइदा हुन्छ ?

घण्टौं लगाएर टिकटक बनाउञ्जेल पढाइलेखाइ वा व्यक्तिगत कामकाज गर्दा सोही व्यक्तिलाई फाइदा पुग्ने हो। गायक कुमार बस्नेतले एउटा गीत गाएका थिए,‘छोरीभन्दा आमा तरुनी क्रिम पाउडरले।’ आजकल त वृद्ध महिलाहरुले पनि छोटा-छोटा लुगा लगाएर टिकटक बनाउन थालेका छन्।

छोराछोरी बिहेदान गरिसकेका, नातिनातिनी भइसकेका महिलाहरु टन्न क्रिम पाउडर धसेर छोटा पहिरनमा टिकटक बनाउँछन्। यसले समाज कता जाँदैछ ? अर्कोतर्फ, महिलाहरुले टिकटकमा अंग प्रदर्शन गर्न थालेका छन्। छाडा भिडियोहरु टिकटकमा हालेर समाजमा नकारात्मक फैलाइँदैछ।

विडम्बना, सरोकारवाला निकायलाई यसको नियमनमा कुनै चासो छैन। अभिभावकहरु आफू त टिकटक बनाउँछन्, स–साना बच्चालाई पनि सिकाउँछन्। बालबालिकाहरुलाई जे सिकायो, उनीहरुले त्यही सिक्छन्। टिकटक बनाउन र हेर्न सिकाउनुको साटो पढ्न, खेलकुद सिकाएको भए, कति राम्रो हुने थियो।

त्यसले उनीहरुलाई पनि फाइदा हुन्थ्यो, समाज र राष्ट्रलाई पनि। अमेरिका, अष्ट्रेलियालगायतका पश्चिमा मुलुकमा घण्टाको हिसाबमा तलब दिइन्छ। एक सेकेण्ड मात्र काममा ढिला पुग्यो भने त्यो दिन काम नै दिइँदैन। यहाँ जस्तो मासिक तलब हुँदैन, जसका कारण उनीहरुलाई समयको निकै महत्व छ।

टिकटक बनाउनुको साटो उनीहरु काम गर्छन। त्यसैले त त्यहाँ विकास भयो। अमेरिकाको पूर्वराष्ट्रपति बारक ओबामा दिनभर आफ्नो जिम्मेवारी सम्हाल्थें, राति काम गर्न जान्थें। उनीहरुसँग खेर फाल्ने समय नै हुँदैन। तर, हामीकहाँ त मासिक तलब दिने चलन छ। काम गर कि नगर, महिनैपिच्छे तलब आइहाल्छ।

त्यसैले नेपालीहरुको बानी बिग्रियो। उनीहरुले समयको महत्व बुझ्नै सकेनन्। हुन देशका प्रधानमन्त्री नै टिकटकको रटान लगाएर बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको वास्ता छैन, टिकटकरहरुसँग भेटभाट गरेर बस्छन्। वालुवाटारमा र्याप सुन्छन्। देशको प्रतिभा भन्दै टिकटकरहरुलाई प्रोत्साहन गर्छन्।

तर, जनताको दुःखपीडा बोकेर आएकासँग भेटघाट गर्न उनीसँग फुर्सद छैन। देशका नेता र जनता उस्तै भए-अल्छी। २७ खर्ब रुपैयाँ वैदेशिक ऋण पुगिसक्यो, सरकार अझैपनि ‘चिल’ पारामा छ। जनता आफ्नो भविष्य बिर्सिएर टिकटक बनाउनमै बेफुर्सदी छन्। एउटा अर्थी छ,‘असार मुठी रोपेर मुरी फलाउने समय हो।’

असार महिनामा रातभर खेतीपाती गर्ने अनि मंसिरमा फलेको अन्नले वर्षभरी खाने। विडम्बना, गाउँको खेतबारी बाँझो छ। घर र मतानमा ताल्चा लगाएको छ। आँगनमा झार उम्रिएको छ। एक आनादेखि तीन आनामा काठमाडौंमा घर बनायो अनि भाडामा लगायो।

भाडाले खान पुगिहाल्छ अनि काम कसले गर्ने ? उनीहरुसँग समय नै समय छ। काम नभएपछि सार्वजनिक ठाउँमा आयो, टिकटक बनायो। यसरी देश विकास हुन्छ ? नेता पनि आफ्नो धुनमा मस्तमगत, जनता पनि। सार्वजनिक काम गर्नुपर्छ, फुर्सदको समयमा श्रमदान गर्नुपर्छ भन्ने कुरा देशका नेतृत्वहरुले जनतालाई सिकाउन सकेनन्।

पहिलेपहिले मान्छेहरु सार्वजनिक काममा केन्द्रित हुन्थें। बाटो, तालपोखरी, चौतारा बनाइन्थ्यो, सबै जना मिलेर सडकलगायतका सार्वजनिक स्थल सरसफाइ गरिन्थ्यो। तर, अहिले त्यस्तो छैन। अहिले कतिपयलाई त सार्वजनिक काम र श्रमदान भनेको थाहा नै छैन होला।

जनताले श्रमदान गरिरहेका थिए, नेतृत्वहरुले आफ्ना आफन्त र कार्यकर्ता पोस्न ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम’ ल्याए। यसमा वर्षेनि ८० अर्ब रुपैयाँ स्वाहा हुँदै आएको छ। यो कार्यक्रममा वास्तविक बेरोजगार होइन, पहुँचवालालाई समेटिँदै आइएको छ। पहुँचले काम पाउँदन्, दिनभर हल्लिएरै बस्छन्।

झार उखाल्याजस्तो गरेर पैसा बुझ्ने क्रम जारी छ। देशमा ७७ जिल्ला छ, तर ७४ जिल्लाकै जनता तीन जिल्लामा आएर थुप्रिएका छन्। गाउँ खाली, शहर भरि, काम नहुँदा जोपनि टिकटकमा दिनभरी। दुःख गर्न कोही नखोज्ने, जसका कारण सबै विदेशमा भर पर्नुपरेको छ।

राज्यले जनतालाई आत्मनिर्भर बनाउनुको साटो परनिर्भर बनायो। हुन त राज्य आफैं पनि परनिर्भर छ। सरकारले जनतालाई काम गर्नुपर्छ, काम गर्ने र समयको ख्याल गर्नेको भविष्य उज्जवल हुन्छ भनेर सिकाउनै सकेन। एउटाले कमाउने, परिवारले बसिबसि खाने क्रम जारी छ।

बस्ने, खाने, हल्लिने र टिकटक बनाउनेमै नेपालीको दिन बितिरहेको छ। कामकाज नहुँदा नेपाली जनता ‘बोइलर कुखुरा’ जस्तै हुन थालेका छन्। जोपनि रोगी। देशमा रोगीको संख्या बढ्नुको प्रमुख कारण यही नै देखिन्छ। पछिल्लो समय त सरकारी कर्मचारी पनि टिकटकमा झुम्मिन थालेका छन्।

ड्रेसमै टिकटक बनाइरहेको देखिन्छ। अनि कसरी समाज सुध्रिन्छ ? जनतालाई सेवा दिन छोडेर सरकारी कर्मचारीहरु टिकटक बनाइरहेका हुन्छन्। सरकारले त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? सरकारी कार्यालय टिकटक बनाउने ठाउँ हो ? टिकटक बनाउन उनीहरुलाई तलब दिएको हो ?

सरकारको ऐनकानुनलाई सरकारी कर्मचारीले नै धोती लगाएका छन्। कर्मचारीहरु त्यस्ता छन्, जनताले के सिक्छन् ? नेता र कर्मचारी बिग्रिएपछि जनता बिग्रिए, जुन स्वाभाविकै हो। भनिन्छ नि,‘जस्तो बुवा, त्यस्तै छोरा।’ अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८