लघुकथा : आमाको सारी

खेमराज पोखरेल
७ असार २०८२ ७:४६
112
Shares

आँगनको पल्लापट्टि डगरको छेउमा इनार थियो। इनार बटुवा तथा गाउँभरिकाले सबै कामका लागि प्रयोग गर्थे। असारको मध्यदिनमा माइली नुहाउँदै थिई। नुहाइसकेर लुगा फेर्न खोज्दा सारी थिएन।

‘होइन यहीँ डोकोमाथि अहिले राखेको सारी कता पर्‍यो ?’ माइली धुइँधुइँती सारी खोज्न थाली। नुहाएको शरीरमा भिजेको पेटिकोट ट्याप्पै टाँसिएको थियो। घोप्ट्याएको डोको जहीँकातहीँ थियो तर त्यसमाथि मुजा पारेर सरक्क राखेको सारी चाहिँ थिएन।

‘होइन कोही पनि आएको छैन यो सारी कता हरायो?’ हल्लीखल्ली मच्चियो। ‘के भयो माइली? कता गयो त? कसैले लुकाइदियो कि’ इनारधनी बजैले जिज्ञासा राखिन्।
‘होइन बजै कोही आएको छैन’

यत्तिकैमा दुईचार जना महिलाहरू इनारमा भेला भए। सबैजना सारी खोज्न सघाउन थाले। सारी फेला परेन।

‘अचम्मै भयो त, कि सारी नै ल्याएकी थिइनस् कि माइली ?’ जोगिनियाँवालीले शंका गरिन्।

‘होइन कस्तो ल्याउँदिन होला त नुहाउन आउने मान्छे ?’

सारी खोज्ने महिलाहरूको सङ्ख्या बढ्न थाल्यो। यताउति कुनाकुनी हेर्न थाले। छिमेकी पुरुषहरू पनि सारी खोज अभियानमा जुटे। गाउँमा को को चोर छन् भन्ने बहस हुन थाल्यो। कसले सारी चोर्‍यो होला भन्ने अनुमान हुन थाल्यो।

‘पक्का पनि त्यै डिल्लेले चोर्‍यो होला, पोहोर साल जनार्दन बाजेको धोती पनि त्यसैले चोरेको थियो’ बेलचोके जेठोले प्वाक्कै बोली हाल्यो।

‘जो होचो उसकै मुखमा घोचो भने जस्तो प्वाक्क नबोल है जेठा, डिल्ले धरान गा’को तिन दिन भइसक्यो, तिम्रो सारी चोर्न अहिले आइपुग्छ ?’ डिल्लेकै भिनाजु कड्किए।

‘यी यहाँ रहेछ सारी’ ढिकीघरको एउटा कुनामा घोप्ट्याएको डोकोभित्र भुजेल्नी साहिँलीले सारी भेटी। सारी डोकोबाट बाहिर निकाल्न खोज्दा त्यसकै वरिपरि खेलिरहेको बजैको पाँच बर्से छोरोले हातमा लिइरहेको एउटा सानो लौरोले भुजेल्नी साहिँलीलाई हिर्कायो। सारी उसले दिँदै दिएन ‘मेरो आमाको सारी’

केही दिन पहिले बजै र माइलीले डुलुवा बनियाँसँग एउटै थानबाट छिटको सारी किनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *