इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

डिसी नेपाल
१२ असार २०८२ १६:३१
8.2k
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी गत हप्तादेखि सार्वजनिक रूपमा देखा परेका छैनन्। ८६ वर्षीय खामेनीको मौनता र अनुपस्थितिले देशभरि चिन्ता, अनुमान र अनिश्चितताको वातावरण सिर्जना गरेको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक केन्द्र फोर्डो, नातान्ज र एस्फहानमा आक्रमण गरेको र इजरायलले पनि लगातार देशमा क्षेप्यास्त्र प्रहार गरेको बेला खामेनीको अनुपस्थितिले अनुमानलाई बढाइरहेको छ।

इरानी मिडियाले विगत केही दिनदेखि खामेनीको कुनै पनि तस्वीर वा सन्देश प्रसारण गरेको छैन। गुप्तचर स्रोतहरूका अनुसार उनलाई गोप्य भूमिगत शेल्टरमा सारिएको छ र सम्भावित हत्या प्रयासबाट बच्न कुनै पनि इलेक्ट्रोनिक सञ्चारबाट टाढा राखिएको छ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू खामेनीको हत्या गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन्। यद्यपि, ट्रम्पले सर्वोच्च नेता खामेनीको हत्या नगर्न सल्लाह दिएका छन्।

रिपोर्टका अनुसार इरानका शीर्ष सरकारी अधिकारीहरू पनि खामेनीसँग प्रत्यक्ष सम्पर्कबाट विच्छेद भएका छन्। मंगलबार इरानको सरकारी टिभीका एक प्रस्तोताले खामेनीको कार्यालयका वरिष्ठ अधिकारी मेहदी फजैलीलाई खामेनीको अवस्थाको बारेमा सोधेका थिए । जवाफमा फजैलीले प्रश्नलाई टार्दै भने ‘हामी सबैले प्रार्थना गर्नुपर्छ। सर्वोच्च नेताको सुरक्षाको जिम्मेवारी लिने व्यक्तिहरूले आफ्नो काम गरिरहेका छन्।’

यसैबीच, इरानी अखबारहरूले पनि चिन्ता व्यक्त गर्न थालेका छन्। खानेमान नामक अखबारका सम्पादक मोहसेन खलिफाले भने ‘धेरै दिनदेखि उनको (खामेनी) अनुपस्थितिले हामी सबैलाई धेरै चिन्तित बनाएको छ। यदि खामेनीको मृत्यु भएको भए उनको अन्त्येष्टि सबैभन्दा भव्य र ऐतिहासिक हुने थियो।’

समाचार एजेन्सी रोयटर्सका अनुसार खामेनीले आफ्नो उत्तराधिकारी पहिचान गर्न दुई वर्षअघि गठन गरेको इरानको शीर्ष धार्मिक समितिले आफ्नो बैठकको गति बढाएको छ। गुप्तचर स्रोतहरूले बताएअनुसार खामेनी र उनको परिवार कडा सुरक्षामा छन् जसलाई रिभोलुसनरी गार्ड्सको वली-ए-अम्र विशेष एकाइले सुरक्षा प्रदान गरिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *