शिक्षकले भनेजस्तै विधेयक आउनुपर्छ भन्ने छैन : पुर्वमन्त्री भट्टराई

डिसी नेपाल
२२ असार २०८२ १९:५४

काठमाडौं । नेकपा एमालेकी सांसद एवं पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षकप्रति भएपनि उनीहरूले भनेजस्तै विधेयक आउनुपर्छ भन्ने नरहेको बताएकी छन्।

आइतबार बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयक माथिको छलफलमा भाग लिँदै भट्टराईले शिक्षकलाई सम्मान गर्नुपर्ने तर उनीहरूले चाहेको जस्तो विधेयक आउनुपर्छ भन्ने नरहेको बताइन्। उनले भनिन्, ‘शिक्षकको सम्मान गरिनुपर्छ तर उनीहरूले भनेअनुसार नै विधेयक आउनुपर्छ भन्ने होइन।’

‘जुन आज विद्यालय शिक्षा पारित हुने आशा गरिएको छ त्यसमा तुषारापात नगरौं। विधेयकमा हामीले खोजेको के हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ र विधेयकले बोल्नुपर्छ तर शिक्षकले भनेको जस्तै हुनुपर्छ भन्ने छैन’, उनले भनिन्।

शिक्षामन्त्रीका रूपमा ९ महिना बिताएको स्मरण गर्दै भट्टराईले बढुवामा हुने आपारदर्शितालाई ऐनबाट अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

‘हामीले भनेको जस्ताको तस्तै हुनुपर्छ भन्ने कुराले ऐन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जिएको छ,’ समिति बैठकमा उनले भनिन्।

पहुँचवाला शिक्षकहरूले मात्रै बढुवाको लाभ लिइरहेको बताउँदै भट्टराईले पहुँच नहुनेहरू पिल्सिनुपर्ने अवस्था रहेको बताइन्। ‘जसको शक्तिशालीसँग पहुँच हुन्छ, उसले मात्रै सुविधा पाइरहेका छन्, सबैको लागि न्याय हुने कानुन बनाऔं,’ उनले भनिन्।

प्रभाव र दबाबका कारण प्रणाली विकासमा सरोकारवाला बाधक बन्न नहुने उनले बताइन्। ‘प्रभाव र दबाब मात्रै राजनीति होइन, प्रणाली विकास गर्ने कुरामा सरोकारवाला बाधक बन्नु हुँदैन,’ उनले भनिन्। विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा दिन सरोकारवाला जबाफदेही हुनुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *