पेप्सीकोलामा फोटोनको नेपालकै ठूलो इभी कमर्शियल सर्भिस सेन्टर सञ्चालन हुँदै
काठमाडौं।एमएडब्ल्यु वृद्धि कमर्शियल भेइकल्स प्रा. लि. ले नेपालमा विगत लामो समयदेखि फोटोन ब्रान्डका विभिन्न कमर्शियल सवारीसाधनहरू बिक्री-वितरण गर्दै आइरहेको छ।
बिक्रीपछिको सेवा (After-sales service) लाई अझ बढी सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमै इभी कमर्शियल क्षेत्रको सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक सुविधायुक्त सर्भिस सेन्टर स्थापना गर्न लागेको हो। यसबाट ग्राहकहरूलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
काठमाडौँको पेप्सीकोला क्षेत्रमा निर्माण भइरहेको यो सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित तयार पारिँदै छ। सर्भिस सेन्टरमा फोटोन इन्टरनेसनल बाट तालिमप्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछ।
बिक्रीपछिको सेवामा नवीन पहल
पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधनको बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्स (Genuine parts) को उपलब्धता, ब्याट्री परीक्षण, नियमित मर्मत-सम्भार तथा ड्राइभर र प्राविधिक तालिम एउटै छानामुनि उपलब्ध गराउने अवधारणासहित तयार गरिएको छ।
गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रूपमा सवारीसाधनको मर्मत-सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। फोटोन मोटर्स नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालका अनुसार, “बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो।
सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन। हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।”
विशेषज्ञ प्राविधिक सेवा र जेन्युइन पार्टपुर्जाको सुनिश्चितता
नयाँ सर्भिस सेन्टरमा नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणाली जडान गरिनेछ। फोटोन इन्टरनेसनलबाट प्रमाणीकरण प्राप्त प्राविधिकहरूको टोलीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीको निरुपण, मर्मत र प्राविधिक जाँच गर्नेछ।
साथै, सर्भिस सेन्टरमा पर्याप्त मात्रामा जेन्युइन पार्टपुर्जाहरू उपलब्ध गराइनेछ। यसले गर्दा मर्मतमा हुने अनावश्यक ढिलाइ हट्नेछ र सवारीसाधन लामो समयसम्म थन्किँदा व्यवसायीलाई हुने नोक्सानीमा कमी आउनेछ।
नेपालभर सर्भिस सञ्जाल विस्तार
हाल नेपालभर फोटोनका २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्टहरू सञ्चालनमा रहेका छन्। देशव्यापी विस्तार योजनाअन्तर्गत फोटोनले सन् २०२६ को अन्त्यसम्ममा पूर्वदेखि पश्चिम नेपालका प्रमुख राजमार्गहरूमा प्रत्येक १०० किलोमिटरको दूरीमा एउटा टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ।
पेप्सीकोलामा सुरु हुन लागेको यो नयाँ सर्भिस सेन्टरले काठमाडौँ उपत्यकाका फोटोन ग्राहकहरूलाई उत्कृष्ट सेवा दिनुका साथै कम्पनीको राष्ट्रव्यापी सर्भिस सञ्जाललाई अझ मजबुत बनाउनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment