कविता : प्रतीक्षा र निभेको कोठाको बत्ती
घडीको सुइले मध्यरातको दुई बजायो,
मेरो जीवनको एउटा अध्याय त्यहीँ रोकियो।
तिमी ढोकाबाट बाहिर निस्कियौ,
म भने भित्रैबाट उजाड भएँ।
परेलीका बाँधले रोक्न नसकेका मेरा आँसु,
तिम्रा हत्केलाले पुछ्न नभ्याउँदै भुइँभरि छताछुल्ल पोखिए।
तिमीले बोकेको सुटकेसमा केवल तिम्रा सरसामान र लत्ताकपडा मात्रै गएनन्,
गए त मेरा हाँसो, खुसी, भोक र निद्रा-सबैसबै!
मान्छेहरू भन्छन्- रातहरू अँध्यारा हुन्छन्,
तर रातहरू केवल अँध्यारा मात्र हुँदैनन्;
कहिलेकाहीँ तिम्रो आकृति बनेर मेरो सामु आइदिन्छन्,
म मुस्कुराउँछु, र स्पर्श मात्र के गर्न खोज्छु-
फेरि रातमै विलीन भइदिन्छन्।
मैले औँशीको मौनतालाई पनि बुझ्न सिकेँ,
पूर्णिमाका जून-तारा त मेरा साथी बनेका छन्-
तिमी गएदेखि!
कोठाभित्र एउटा बत्ती बलिरहन्छ, निभेको छैन,
लाग्छ, त्यो बत्ती बिजुलीले भन्दा पनि मेरो प्रतीक्षाले बलेको छ,
अलिकति साथ त मेरो त्यागले पनि दिएको छ।
तिमी गएपछि मात्र थाहा पाएँ-
प्रेमको गहिराइ नाप्न नसकिने रहेछ,
केवल महसुस मात्र गरिदिने हो।
भो, अब प्रेमका कुरा नगरौँ,
मुटुमा गहिरो घाउ बनाएको छ प्रेमले।
भन्न त भन्छन्- समयसँगै घाउहरू निको हुन्छन्,
तर मेरो घाउ निको हुनका लागि उब्जिएको होइन,
यो त तिम्रो प्रतीक्षा गरिरहनका लागि हो,
तिम्रा फर्किएका पैतालाहरू कुरिरहनका लागि हो।
No ads found for this position




Facebook Comment