देशका २३ जिल्लामा बाढीको ‘एल्लो अलर्ट’
काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार सम्भावित बाढीबारे जानकारी दिँदै एल्लो अलर्ट जारी गरेको छ।
बाढी महाशाखाका अनुसार बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर बढ्ने सम्भावना छ।
जिल्लाका हिसाबले चाहिँ आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।
यस्तै सोलुखुम्बु, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, कालिकोट, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले उल्लिखित २३ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। यी जिल्लाका खोलारनदी क्षेत्रमा होसियारी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment