नेपाललाई योग, ध्यान, अध्यात्म र आयुर्वेदको विश्व केन्द्र बनाउने दिशामा सांकेतिक पहल-“चेतना संवाद” कार्यक्रमको शुभारम्भ
अमेरिका। नेपाल प्राचीनकालदेखि नै योग, ध्यान, अध्यात्म तथा आयुर्वेदको उद्गमस्थल र समृद्ध परम्पराको धरोहरका रूपमा परिचित रहँदै आएको छ।
यस्ता आध्यात्मिक सम्पदाहरूको व्यापक उपस्थिति र योगदान हुँदाहुँदै पनि नेपालले राष्ट्रिय समृद्धि र नागरिक खुसीका लागि यी क्षेत्रहरूको समुचित उपयोग गर्न सकेको देखिँदैन। ऐतिहासिक दृष्टिकोण, भूगोल र ऊर्जा विज्ञानका आधारमा समेत नेपाल एक अत्यन्त शक्तिशाली आध्यात्मिक केन्द्रको रूपमा चिनिँदै आएको छ-जुन कुरा प्राचीन ऋषिमुनिहरू र अध्यात्मिक परम्पराहरूले पुष्टि गर्दै आएका छन्।
यदि नेपाल सरकारले प्रारम्भिक शिक्षादेखि नै योग, ध्यान र अध्यात्म विषयलाई प्राथमिकताका साथ समावेश गर्ने रणनीति लियो भने, नेपालले दीर्घकालीन रूपमा विश्वमा योग र अध्यात्म निर्यात गर्ने सफल राष्ट्रको रूपमा आफूलाई स्थापित गर्न सक्छ।
यिनै उद्देश्यहरूलाई ध्यानमा राख्दै डिसी नेपालले यही अगस्ट २०२५ देखि अमेरिकाको प्रत्येक शनिबार बिहान फेसबुक लाइभमार्फत “चेतना संवाद” कार्यक्रम सुरु गर्न लागेको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाल तथा विश्वभर फैलिएका आध्यात्मिक गुरू, चिन्तक र अनुभवी व्यक्तित्वहरूसँग संवाद गरी समाजमा आध्यात्मिक चेतना, आन्तरिक शान्ति र जीवन दर्शनको विकासमा योगदान पुर्याउनु हो।
कार्यक्रमको **पहिलो एपिसोड २०२५ अगस्ट २ (शनिबार) का दिन नेपालका दुई प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वहरू एल.पी. भानु शर्मा र रमेश नेपालसँगको विशेष संवादबाट सुरु हुँदैछ।
डिसी नेपालका पाठक, दर्शक तथा शुभचिन्तकहरूलाई हामी विनम्र अनुरोध गर्दछौं-यदि तपाईंहरूलाई नेपाल वा विश्वका कुनै महत्त्वपूर्ण, तर कम परिचित आध्यात्मिक साधक, गुरु वा सेवाभावी व्यक्तित्वहरूको जानकारी छ भने, कृपया हामीलाई सिफारिस गरिदिनुहोस्। हामी उहाँहरू लाई भविष्यका संवादमा समावेश गर्न इच्छुक छौं। उहाँहरूको आध्यात्मिक ज्ञानबाट समाज र विश्वले फाइदा लियोस् भन्ने हामी चाहन्छौँ।
हामी पाठकवृन्दहरूबाट सृजनात्मक सुझाव, प्रतिक्रिया, सहयोगको तथा सहभागिताको अपेक्षा गर्दछौं। “चेतना” अभियानमार्फत हामी एकजुट भएर चेतनाको युगतर्फ अघि बढौं।
No ads found for this position

डिसी नेपाल
Facebook Comment