बहुविवाहलाई छुट दिनेगरी कानुन बनाउनु हुँदैन : महिला संघ
काठमाडौं । नेपाल महिला संघले बहुविवाहलाई छुट दिनेगरी कानुन बनाउन नहुने भन्दै कानुन मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
संघले आइतबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापन पत्र बुझाउदै बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण र आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि ध्यानाकर्षण गराएको हो।
प्रस्तावित व्यवस्थामा उल्लेख कुनै पुरुषले वैवाहिकसम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ भन्ने प्रावधानले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट मनसाय राख्ने संघकी अध्यक्ष उषा रावत मिश्रले बताए।
गलत सम्बन्धबाट जन्मेको बच्चाको अधिकार संरक्षणका लागि यो व्यवस्था ल्याइएको हो भन्ने तर्क उचित नभएको उहाले बताए।
संघको ज्ञापन पत्र बुझ्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन बनाउन लागेको कुरा भ्रम मात्रै रहेको बताए। गलत सम्बन्धबाट जन्मेको बच्चाको अधिकार संरक्षणका लागि सरकारले कानूनको संशोधन गरेको भन्दै उनले उक्त संशोधन आवश्यक नभए हटाउन मन्त्रालय सकारात्मक रहेको जिकिर गरे।
बहुबिवाहलाई निष्तेज गर्नका लागि पुरुषलाई जस्तै महिलालाई पनि कारवाही हुने व्यवस्था हुने उनको भनाइ छ। संघले बहुविवाह जस्तो सामाजिक अपराधलाई कानुनी मान्यता दिए महिलाले अन्याय र समानताका लागि गरेको लामो र कठिन सङ्घर्षप्रतिको विश्वासघात हुने जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment