पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्छः महासचिव पोखरेल

डिसी नेपाल
१८ साउन २०८२ २१:५४
28
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्ने बताएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी बाहिरबाट पार्टीका विरुद्ध प्रहार भए अझ सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

महासचिव पोखरेलले हाल समग्र प्रहारको निशाना पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताए। ‘हाल हाम्रो पार्टी र आन्दोलनमाथि जुन कुरालाई केन्द्रविन्दु बनाएर प्रहार भएको छ। त्यसलाई विस्थापित नगरीकन हाम्रो आन्दोलन अगाडि बढ्न सक्दैन‘, उनले भने।

महासचिव पोखरेलले नवौं केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन दोस्रो विधान महाधिवेशनमा छलफल गरिनेसमेत बताए। उनले मिसन २०८४ लाई ध्यानमा राखेर पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए।

महासचिव पोखरेलले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमति अनुमोदन हुने प्रणालीमा जानुपर्ने बताए। प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको सङ्गठनात्मक प्रणाली र जीवन बन्नुपर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले सामान्तवादलाई राजनीतिक रूपमा पराजित गरिए पनि दलाल पुँजीवाद यथावत् रहेको बताए। ‘२०६२/६३ को आन्दोलनबाट सामन्तवाद पराजित भयो, तर दलाल पुँजीवाद पराजित भएको छैन। हाम्रो समाजमा दलाल पुँजीवाद अझै चुनौतीका रूपमा छ‘, उनले भने, ‘यी विविध कारणले अर्थतन्त्रलाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिएको छैन, जसले गर्दा नेपाली राजनीतिमा बाह्य प्रभाव रहेको छ।‘

एमाले पोलिटब्यूरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई एकढिक्का बनाएर मिसन २०८४ मा सामेल हुनुपर्ने बताए। उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीले पार्टी नेतृत्व र सरकारमाथि हुने हमलाको सबैले प्रतिपादन गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *