‘युक्रेनबिना गरिने निर्णयहरूले शान्ति सम्भव छैन’

डिसी नेपाल
२४ साउन २०८२ १६:४७
328
Shares

किभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा शान्ति स्थापनासम्बन्धी शिखर वार्ता आगामी हप्ता अमेरिकाको अलास्कामा हुन लागेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताविना गरिने कुनै पनि निर्णय प्रभावकारी नहुने धारणा व्यक्त गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भने, ‘युक्रेनका नागरिकहरूले आफ्नो भूमिमा कुनै पनि किसिमको अतिक्रमण स्वीकार गर्दैनन्। हाम्रो सहभागिताबिना गरिने निर्णयहरू शान्तिप्रति सहयोगी हुने छैनन्।’

उनले युक्रेन वास्तविक र परिणाममुखी शान्ति प्रक्रिया अपनाउन तयार रहेको स्पष्ट पार्नुभयो । तर, यस्तो शान्ति सम्मानजनक र देशको सार्वभौमिकतालाई सम्मान गर्ने किसिमको हुनुपर्ने कुरामा जोड दिए।

सन् २०२२ को फेब्रुअरीदेखि जारी द्वन्द्वका कारण हजारौँ मानिसहरूले ज्यान गुमाइसकेका छन् भने करोडौँ विस्थापित हुन बाध्य भएका छन्। यस वर्ष रुस र युक्रेनबीच तीन चरणसम्म वार्ता भए पनि ठोस सहमति कायम हुन सकेको छैन।

राष्ट्रपति पुटिनले हालसम्म युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको छ, जबकि राष्ट्रपति जेलेन्स्कीले शान्तिका लागि उच्चस्तरीय प्रत्यक्ष संवाद अपरिहार्य रहेको धारणा राख्दै आएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार शिखर वार्ता घोषणा गर्दै केही भूभाग आदान–प्रदान हुने सम्भावना संकेत गरेको भए पनि त्यसको विस्तृत विवरण भने दिएका छैनन्।

यो शिखर वार्ता साउन ३० गते अलास्कामा हुने तय भएको छ, जसलाई अमेरिकी र रुसी राष्ट्रपतिहरूबीचको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *