सत्र वर्षीय बालिकाले जन्माइन् मृत जुम्ल्याहा शिशु

डिसी नेपाल
६ भदौ २०८२ २०:५१
140
Shares

सिमकोट (हुम्ला)। जिल्लाको दक्षिण भेग चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा सत्र वर्षीय बालिकाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन्। मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताए।

बुढालाई सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्यचौकीमा लगिएको थियो।

उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो। स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्यचौकी संयोजक बुढाले बताए।

बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत रहेकी छन्। बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी थिइन्। हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए।

हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ। पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यहाँका महिलाको ज्यान जोगिँदै आएको पाइन्छ। सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *