शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर

डिसी नेपाल
१९ भदौ २०८२ १२:२९
16
Shares

काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको छ।

बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको हो। प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो।

सिनेमाको प्रिमियर शो सुरु हुनु अगाडि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरिएको थियो।

सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए। यो सिनेमाको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए।

सिनेमा हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए। यो सिनेमा हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो।

यता, सिनेमाका अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए। निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो सिनेमा निर्माण गर्नु भएको छ। सवैले साथ दिनु जरुरी छ। त्यसैले सवै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ।

सिनेमाकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब आठ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले सिनेमा हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन्।

‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु। म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ। त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिए। आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुले। सिनेमा निकै राम्रो बनेको छ। लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन्।

सिनेमाका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत तीन वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ। यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *