सर्वोच्च अदालत जल्दा केही युवाहरु अदालत जोगाउन लागि परेका थिए : सविता भण्डारी
काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले ‘न्यायपालिका : अस्तित्व रक्षाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायपालिका, सुशासन र युवा आन्दोलनका विषयमा धारणा व्यक्त गरेकी छिन्।
महान्यायाधिवक्ता भण्डारीले हालको ‘जेनजी आन्दोलन’लाई समर्थन जनाउँदै, ती आन्दोलनकारीहरुले व्यक्तिगत फाइदाका लागि नभैइ, देशको हितका लागि आवाज उठाएको स्पष्ट पारिन्।
उनले भनिन्, ‘जेनजी आन्दोलन देशमा सुशासन होस्, विदेश जान कसैलाई नपरोस्, भ्रष्टाचार अन्त्य होस् भनेर भएको हो। त्यसैको प्रतिफलस्वरूप अहिले देशमा नयाँ परिवर्तनको संकेत देखिएको छ।’
उनका अनुसार आन्दोलनकारीहरुले आफ्ना लागि होइन, सम्पूर्ण देशका लागि आवाज उठाएका थिए। तर आन्दोलनकै क्रममा सर्वोच्च अदालत जलाइएको घटनालाई उनले गम्भीर रूपमा लिएकी छन्। उनले भनिन्, ‘जब सर्वोच्च अदालतमा आगजनी भयो, केही युवा पुस्ता भने त्यसलाई जोगाउन अघि सरेका थिए।’
भण्डारीले युवा पुस्ताको सक्रियताको प्रशंसा गर्दै भनिन्, ‘आन्दोलनपछि युवाहरु आफैँ सडक सरसफाइ र ट्राफिक व्यवस्थापनमा समेत जुटे। यदि हामीले उनीहरुसँग अलिकति हातेमालो गरौं भने र उनीहरुले चाहेका कुरा दिन सक्यौं भने, आन्दोलनमा ज्यान गुमाउनेप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली त्यो नै हुनेछ।’
उनले आन्दोलनका नाममा भएका केही हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘जेनजी आन्दोलनकारीहरुले संरचना जलाएको मलाई लाग्दैन। त्यो बेला जेलहरू तोडिएपछि केही अपराधी समूहहरु सक्रिय भएका थिए, जसले अदालत र सरकारी वकिल कार्यालयमा आक्रमण गरे।’
महान्यायाधिवक्ताका अनुसार हालसम्म २५ वटा सरकारी कार्यालयहरू आगजनीमा परेका छन्। कार्यक्रममा उनले राज्य संयन्त्रले आन्दोलन र हिंसा बीचको भिन्नता चिन्नुपर्नेमा जोड दिइन् र न्यायपालिकाको अस्तित्व रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।







डिसी नेपाल







Facebook Comment