उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो।
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो।
यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन्। घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment