‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौं महानगर

डिसी नेपाल
२९ असोज २०८२ २२:४४
8
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘एनएफसी नियर फिल्ड कम्युनिकेसन चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ।

वडा नं २६ लैनचौर क्षेत्रबाट सो प्रविधि जडान सुरु गरेको हो। लैनचौरस्थित वडा कार्यालयमा आज उक्त प्रविधि जडान गरी औपचारिक सुरुवात गरिएको महानगरले जनाएको छ।

वडाध्यक्ष एवं कामपाका सुशासन समिति संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरे। वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ। प्रणाली खरिद तथा जडानका लागि वडाले गत आर्थिक वर्ष २०८१÷८२ मा सार्वजनिक खरिद प्रक्रिया थालेको थियो। सो प्रक्रिया टुंगिएपछि प्लेट जडान थालिएको हो।

कामपाले विगत दुईदशकदेखि ‘मेट्रिक’ ठेगाना प्रणाली अपनाउँदै आएको थियो। सो प्रणालीलाई रुपान्तरण गर्दै वडा नं २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो। वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामलाई यथावत् राखी ‘क्युआर कोड’ र चिप्ससहितको ठेगाना प्लेट जडान हुनेछ।

जडान गरिएको प्लेटमा स्थानीय नेपाली कोडसँगै ‘युनिभर्सल गुगल प्लस कोड’ हुनेछ। प्लेट जडान भएका घरमा घरधनीले प्लेटको फोटो पठाए मात्र पुग्छ। यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ।

‘लेजर’मार्फत खोपेर तयार पारिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ। यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन। यो आइडी तथा ठेगाना, कोड अफलाइनमा खोज्न सकिने गरी बनाइएको छ।

नम्बर प्लेटमा राखिएको क्युआर कोड प्रयोगले घरमा आउने पाहुनाले ‘डोर बेल’का रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ। फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाहजस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ।

वडाध्यक्ष तिवारी भन्छन्, ‘यो काम विद्युतीय शासनका लागि महत्त्वपूर्ण आधार हो। कामपाले विद्युतीय रुपमा ‘डेलिभरी’, हाजिरी, ‘बायोमेट्रिक्स’, सिफारिस, चिठ्ठीपत्र, टिप्पणीजस्ता सेवा कार्यान्वयनमा ल्याइसकेको छ।’

यसअघि करदाता र सेवाग्राहीको पहिचान गर्न नै कठिन भएकामा जडान सुरु गरिएको डिजिटल घर नम्बर प्रणालीले सेवा प्रवाह, राजस्व संकलनजस्ता कामलाई छरितो बनाउन सजिलो हुने सो वडाका सचिव केदार रिमालको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *