केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा
विद्या भण्डारीको सदस्यताबारे पार्टीको निर्णय विधान विपरीत
काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन्।
‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ। यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ। हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ।’
थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ।
‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने।
ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औंल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गरे।
उनले भने,‘उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौं। उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो। तर अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो। यो कुरा दु:खद छ।’
थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन्। ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो। यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ उनले भने।
कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्-पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली। पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन। मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन्। मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए। र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन्।’
तर उनले जोड दिए,‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ। ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ।’
उनले नयाँ नेतृत्व सम्भव छ, प्रतिस्पर्धा आवश्यक छ थापाले ओलीको विकल्प सम्भव भएको दाबी गरे। ‘कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो। अहिले पनि नयाँ नेतृत्व सम्भव छ। हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौं,’ उनले भने।
कुनैबेला ओलीजी अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो। अहिले पनि नयाँ नेतृत्व सम्भव छ। हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौं।
एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाउनुपर्छ। पार्टीमा सबैको सम्मान हुने, कार्यकर्ताहरू सार्वभौम हुने वातावरण बनाउनुपर्छ। नेतृत्व परिवर्तन सहज ढंगले हुन सक्छ भन्ने विश्वासका साथ अघि बढेको थापाको भनाई छ।
विद्या भण्डारीको सदस्यता विवादबारे उनले टिप्पणी गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे थापाले पार्टीको निर्णयलाई ‘विधानविपरीत’ भने।
‘पार्टी विधानको धारा ९ अनुसार, कुनै विशेष जिम्मेवारीमा पठाइएको व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ। त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण मिलेन भन्ने निर्णय गलत छ,’ उनले भने।
‘एमालेजस्तो लोकतान्त्रिक पार्टीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिनु गलत निर्णय हो। यस्तो निर्णयले पार्टीमाथि धब्बा लगाएको छ र लोकतान्त्रिक मूल्यमा प्रहार गरेको छ,’ थापाले भने।
थापाले एमालेलाई फेरि जनताको आशा र विश्वासको पार्टी बनाउने आवश्यकता औंल्याए।
‘एमाले कहिले यस्तो पार्टी थियो जहाँ असल, योग्य र सक्षम कार्यकर्ताहरूको कदर हुन्थ्यो। असल मान्छे जिम्मेवारी पाउँथे, गल्ती गर्नेहरूलाई कारबाही हुन्थ्यो। अहिले त्यो प्रणाली कमजोर भएको छ। हामी फेरि त्यही गौरव फर्काउने प्रयासमा छौं,’ उनले भने।
उनले आत्मसमिक्षा पनि गर्दै ‘हामीले सत्तामा रहँदा केही कमजोरी गरेका हौँ, केही गल्ती पनि भएका छन्। ती गल्ती दोहोर्याउँदैनौँ। जनतासँग माफी मागेर हामी फेरि जनविश्वास आर्जन गर्नेछौं।’ थापाले अन्त्यमा भने,जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।
‘राजनीतिक पार्टीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास हो। आज सत्ता, पद र व्यक्तिगत स्वार्थले राजनीति प्रभावित हुन थालेको छ, तर वास्तविक शक्ति जनताको भरोसामा निहित छ,’ उनको भनाइ छ।
‘राणाकालदेखि पञ्चायतसम्मका कठिन समयमा पनि मानिसहरू पदका लागि होइन, विचारका लागि कम्युनिस्ट आन्दोलनमा लाग्थे। त्यही भावना पुनः जगाउने बेला आएको छ। एमाले फेरि त्यस्तो पार्टी बन्नुपर्छ जसले जनताको भावना, सपना र आशा पूरा गर्न सकोस्,’ उनले भने।
‘हामी यस्तो पार्टी चाहन्छौं जसले न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माण गर्न सकोस्। एमाले फेरि त्यही जनताको विश्वासमा आधारित, सुदृढ र अनुशासित पार्टी बन्नुपर्छ,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment