हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने

डिसी नेपाल
२८ कार्तिक २०८२ २३:००
68
Shares

काठमाडौं। हङकङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङकङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ

नेपाली महावाणिज्य दूतावास हङकङले भोलि शनिबार (सन् २०२५ को नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ।

महावाणिज्य दूतावासले आज एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ। नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो।

हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ।

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ।

महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङ सरकारको यो कदमले नेपाल र हङकङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ। अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङकङ सरकारलाई धन्यवाद दिन चाहन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *