कांग्रेसको वर्तमान संकटमा सबै पक्ष संयमित रहन जनसम्पर्क समितिका सभापतिहरूको अपिल
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिहरूले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।
‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैसकेको अवस्था छ। यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँति राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
यो अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने समय भएकाले यस मर्मलाई बुझ्न उनीहरूले पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
‘आम निर्वाचनको प्रक्रिया सुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ। हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू समेत चयन भैसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीको पौष १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धतासमेत उनीहरूले जाहेर गरेका छन्। ‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भई पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुन: एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौं,’ उनीहरूले भनेका छन्।
नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
संयुक्त रुपमा बालकृष्ण पाण्डे- भारत, आनन्द विष्ट- अमेरिका, युवराज गुरुङ- बेलायत, रोशन केसी- जापान, सुरेश गुङ- अस्ट्रेलिया, चोलाकान्त पंगेनी- मलेसीयाले विज्ञप्ति जारी गरेका छन्।
यस्तै भुवानी प्रसाद तिमिल्सिना- दुवै, अर्जुन थापा साउदी- अरब, शेरबहादुर रावत- बहराइन, सुभाष गुरुङ- बेल्जिएम, शालिक गौतम- नेदरल्याण्ड, शिखर खड्का- जर्मनी, यादव बस्नेत- डेनमार्क, नवीन थपलिया- स्वीडेन, दिपिका भुसाल- इजरायल, बुद्धिप्रकाश ओली- क्यानडा, बुद्धिसागर घिमिरे- न्यूजल्याण्डले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment