बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन्। ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौं र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन्।
विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, “दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको जिल्लाभरिका नागरिकले सेवा लिएका छन्। विभिन्न संस्थासँगको सहकार्यमा आयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविर उपलब्धिमूलक बनेको छ।”
निःशुल्क बृहत् स्वास्थ्य सेवा शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष टङ्कबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ।
यही चैत ५ र ६ गते आयोजना गरिएको शिविरका लागि रिसर्च सेन्टर काठमाडौँका प्रमुख चिकित्सक डा आनन्दप्रसाद श्रेष्ठसहित ३३ जनाको विशेषज्ञ टोली दिक्तेल आएको नगरपालिकाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment