अमेरिकी उच्चस्तरीय टोलीको भ्रमणअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण
इस्लामावाद। अमेरिकी उच्चस्तरीय टोलीको सम्भावित भ्रमणको तयारीस्वरूप पाकिस्तानमा साेमबार अमेरिकी सैन्य विमानहरूको बाक्लो उपस्थिति देखिएको छ। प्राप्त जानकारीअनुसार पाकिस्तानको राजधानी इस्लामावादस्थित नुर खान एयरबेसमा एकै दिनमा ६ वटा अमेरिकी सैन्य विमानहरू अवतरण गरेका छन्।
उडान ट्र्याकिङ डेटाका अनुसार यी विमानहरूले उच्चस्तरीय कूटनीतिक भ्रमणका लागि आवश्यक सुरक्षा उपकरण, सञ्चार सामग्री र प्राविधिक सहयोगका सामग्रीहरू बोकेर ल्याएको स्रोतले जनाएको छ। पछिल्लो समय अमेरिका र इरानबीच हुन गइरहेको वार्ताको दोस्रो चरणको तयारी भइरहेका बेला यी विमानहरूको अवतरणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
ट्र्याकिङ डेटाका आधारमा, अमेरिकी वायुसेनाका ठूला ‘सी-१७’ विमानहरूले विभिन्न समयमा नुर खान एयरबेसमा अवतरण गरेका थिए। अधिकारीहरूका अनुसार यी विमानहरूले भ्रमणमा आउने अमेरिकी टोलीका लागि आवश्यक पर्ने सुरक्षा र प्राविधिक व्यवस्थापनका सामग्रीहरू ल्याएका हुन्। यी विमानहरूको अवतरणलाई मध्यनजर गर्दै अमेरिकाले आफ्नो रसद आपूर्ति र सुरक्षा तयारीलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।
अमेरिकी टोलीको भ्रमणको पूर्वसन्ध्यामा इस्लामावाद र रावलपिन्डीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। पाकिस्तानी अधिकारीहरूले राजधानीको ‘रेड जोन’ क्षेत्रलाई पूर्ण रूपमा सिल गरेका छन् भने जनआवतजावत र ढुवानीका साधनहरूमा पनि कडाइ गरिएको छ।
राज्य सञ्चालित समाचार एजेन्सीका अनुसार, विदेशी प्रतिनिधिमण्डलको सुरक्षा सुनिश्चित गर्न रावलपिन्डी प्रहरीले ‘हाई अलर्ट’ जारी गरेको छ र विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।
यो घटनाक्रम अमेरिका र इरानबीचको तनावका बीच भइरहेको कूटनीतिक संवादसँग प्रत्यक्ष रूपमा जोडिएको छ। अमेरिकी उपराष्ट्रपति वा अन्य शीर्ष अधिकारीहरूको भ्रमण हुने चर्चा चलेसँगै सुरक्षा र कूटनीतिक तयारी तीव्र पारिएको हो। आगामी साता हुने भनिएको उच्चस्तरीय वार्ताका लागि दुवै मुलुकका प्रतिनिधिहरूले पाकिस्तानमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेका छन्।
पाकिस्तानले विदेशी पाहुनाहरूको सुरक्षाका लागि अपनाएको यो विशेष सतर्कताले क्षेत्रीय कूटनीतिमा बढ्दो चासो र जिम्मेवारीलाई संकेत गरेको छ। हालसम्म अमेरिका वा पाकिस्तान सरकारले भ्रमणको औपचारिक पुष्टि भने गरिसकेका छैनन्।







डिसी नेपाल







Facebook Comment