बेनीमा करदाता सेवा सुरु
म्याग्दी । बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ। बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका ब्यवसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्नेसम्बन्धी सेवा सुरु भएको हो।
यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राहीहरू आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए। करदातासम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालबीच समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुआत गरिएको हो। सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो।
सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सिलवालले बताए।
उनका अनुसार कर कार्यालय बागलुङको कार्यक्षेत्र भएका जिल्लाहरू बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका स्थानीय तहहरूमध्ये बागलुङको गलकोट नगरपालिका, पर्वतको पैँयु गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाबाट सेवा सुरु भएको छ। अन्य जिल्लाका पालिकाहरूमा पनि बिस्तारै सेवा विस्तार गरिने योजना रहेको सिलवालले बताए।
बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्व शाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।
करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए।







डिसी नेपाल







Facebook Comment