वर्षमा २ पटक मात्र खुल्ने रहस्यमय बाटो

डिसी नेपाल
१० वैशाख २०८३ ११:३४

काठमाडौं । दक्षिण कोरियाको जिन्डो टापुमा प्रकृति र विज्ञानको अनुपम सङ्गम मानिने ‘जिन्डो मिराकल सी रोड’ को आश्चर्यजनक दृश्य यस वर्ष पनि लाखौँ पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

समुन्द्रको बीचमा अचानक बाटो देखिने यो अद्भुत प्राकृतिक घटनालाई विश्वभर “आधुनिक समयको मोसेस चमत्कार” का रूपमा समेत चिनिन्छ। जिन्डो टापु र नजिकैको मोदो टापुलाई जोड्ने यो समुद्री मार्ग करिब २.८ किलोमिटर लामो र ४० मिटर चौडा रहेको छ, जुन समुद्री छालहरू कम भएको बेला मात्र सतहमा देखा पर्दछ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा यो कुनै चमत्कार नभई पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण बलका कारण हुने ‘टाइडल हार्मोनिक्स’ को परिणाम हो। जब समुद्री छालहरू आफ्नो न्यूनतम बिन्दुमा पुग्छन्, समुन्द्र मुनिको बालुवा र माटोको थुप्रो बाहिर निस्कन्छ र एउटा अस्थायी पैदल मार्गको निर्माण हुन्छ।

यो विशेष भौगोलिक संरचनाका कारण वर्षमा सामान्यतया दुई पटक, खासगरी वसन्त ऋतु (मार्च–जुन) र कहिलेकाहीँ शरद ऋतुको सुरुतिर मात्र यसरी स्पष्ट रूपमा बाटो खुल्ने गर्दछ।

यस प्राकृतिक घटनासँग एउटा रोचक पौराणिक कथा पनि जोडिएको छ। स्थानीय लोककथा अनुसार, जिन्डो टापुमा बाघहरूको आतङ्क बढेपछि गाउँलेहरू मोदो टापुतिर भाग्दा ‘हजुरआमा ब्योङ’ अन्जानवश पछाडि छुटेकी थिइन्।

उनले समुन्द्रका देवतासँग आफ्नो परिवारसँग मिलन गराइदिन प्रार्थना गरेपछि समुन्द्र फाटिएर बाटो बनेको विश्वास गरिन्छ। यही सम्झनामा हरेक वर्ष जिन्डोमा भव्य महोत्सवको आयोजना गरिन्छ, जहाँ पर्यटकहरूले रबरको जुत्ता लगाएर समुन्द्रको बीचमा हिँड्दै समुद्री जीवहरू बटुल्ने र कोरियाली सांस्कृतिक कार्यक्रमहरूको आनन्द लिने गर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *