‘लु’को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजनामाथि सुझाव सङ्कलन

डिसी नेपाल
१० वैशाख २०८३ २१:३९

काठमाडौं। अत्याधिक गर्मी अर्थात् तातो हावाको लहर (लु)सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्यायोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यहाँ सरोकार भएका निकायका प्रतिनिधिसँग सुझाव सङ्कलन गरेको हो।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले अत्यधिक गर्मी वा तातो हावाको लहरबाट बच्नका लागि ‘पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’को मस्यौदामाथि सरोकार भएकाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय, विषयगत क्षेत्रका सरकारी निकाय तथा सहयोगी निकाय, नेपाल स्काउटलगायत सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण हुनसक्ने समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा सहभागीहरूको जोड थियो। ठाउँठाउँमा माटोको भाडामा पानी राख्ने व्यवस्था गर्ने, स्थानीय ज्ञानको पनि सदुपयोग गर्नुपर्ने, तातो हावाको लहरका बेला अवस्था हेरी विद्यालय बन्द गर्नेसम्मका योजना बनाउनु पर्ने उहाँहरूको सुझाव थियो।

सुझावलाई एकीकृत गरी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न चरणमा अघि बढाइएको प्राधिकरणले जनाएको छ। पछिल्लो साता देशभर तातो बढेको र कतिपय जिल्लामा तापक्रम ४१ डिग्रीभन्दा माथि पुगिसकेकाले आवश्यक सर्तकता अपनाउन प्रधिकरणले सबैमा आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *