आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
नयाँ दिल्ली। इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई उसैको घरेलु मैदानमा ८ विकेटले पराजित गरेको छ। सञ्जु सामसनको उत्कृष्ट ब्याटिङको मद्दतले चेन्नईले १५६ रनको लक्ष्य मात्र २ विकेट गुमाएर १७.३ ओभरमा सहजै पूरा गर्यो।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो। दिल्लीका लागि सुरुवाती ब्याटरहरूले मध्यम सुरुवात गरे पनि चेन्नईका बलरहरूको कसिलो बलिङका सामु ठूलो स्कोर बनाउन सकेनन्।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका लागि सञ्जु सामसन नायक सावित भए। उनले मात्र ५२ बलमा अविजित ८७ रनको विष्फोटक इनिङ खेल्दै टोलीलाई १५ बल बाँकी छँदै जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि सामसन ‘प्लेयर अफ द म्याच’ घोषित भए। दिल्लीका बलरहरूले कसिलो बलिङ गर्न नसक्दा चेन्नईका ब्याटरहरू खेल अवधिभर हाबी देखिएका थिए।
यो जितसँगै चेन्नई सुपर किंग्सले १० खेलबाट १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा आफ्नो पकड बलियो बनाएको छ। अर्कोतर्फ, समान खेलबाट ८ अंक मात्र जोडेको दिल्ली क्यापिटल्स सातौं स्थानमा खुम्चिएको छ। यो हारले दिल्लीको प्लेअफ पुग्ने सम्भावनालाई थप चुनौतीपूर्ण बनाएको छ।







डिसी नेपाल







Facebook Comment