तमिलनाडुमा ‘थलापति’ विजयको इन्ट्री: बहुमत जुटेसँगै नयाँ सरकार गठनको बाटो खुल्यो

डिसी नेपाल
२६ वैशाख २०८३ १९:५४

चेन्नाई। दक्षिण भारतीय चलचित्रका सुपरस्टार जोसेफ विजय (थलापति विजय) तमिलनाडुको नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ।

विगत केही दिनदेखि जारी सत्ता संघर्ष शनिबार विदुथलाई चिरूथाइगल (भिसिके) पार्टीले विजयको दल तामिलगा भेट्री कझागम (टिभिके) लाई समर्थन गर्ने औपचारिक घोषणा गरेसँगै समाप्त भएको हो। यससँगै राज्यमा सरकार गठनको अनिश्चितता समेत अन्त्य भएको छ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार बनाउन ११८ सिटको आवश्यक पर्दछ। हालैको निर्वाचनमा विजयको पार्टी टिभिकेले १०८ सिट जितेर ठूलो दल बने पनि बहुमतका लागि १० सिट अपुग थियो।

शनिबार भिसिकेका २ विधायकले समर्थन गरेपछि र यसअघि नै कांग्रेसका ५, सिपिआईका २, सिपिएमका २ तथा आइयुएमएलका २ विधायकले समर्थन जनाएपछि विजयको गठबन्धनको कुल संख्या १२१ पुगेको छ। विजय आफैँ दुई क्षेत्रबाट निर्वाचित भएकाले प्राविधिक रूपमा उनको पक्षमा १२० विधायकको समर्थन रहनेछ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।

विगत तीन दिनदेखि विजयले ११६ विधायकको समर्थनसहित सरकार गठनका लागि राजभवनमा दाबी पेस गर्दै आएका थिए। तर, बहुमतको स्पष्ट आधार (११८ सिट) नपुगेका कारण राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उनलाई सरकार गठनको औपचारिक आह्वान गरेका थिए।

शनिबार भिसिकेका अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थन पत्र हस्तान्तरण गरेपछि अब विजयको नेतृत्वमा नयाँ सरकार बन्ने कानुनी र राजनीतिक बाटो प्रशस्त भएको छ।

रुपौलो पर्दामा तहल्का मच्चाएका थलापति विजयले राजनीतिमा प्रवेश गरेको छोटो समयमै ऐतिहासिक सफलता हात पारेका छन्।

क्षेत्रीय शक्तिहरू र राष्ट्रिय दलहरूको समर्थन जुटाउँदै उनले तमिलनाडुको सत्ता सम्हाल्ने तयारी गरेका छन्। समर्थन प्राप्त गरेसँगै अबको केही दिनमै उनले मुख्यमन्त्रीको रूपमा शपथ लिँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *