एटलान्टिकमा हन्टाभाइरसको कहर: क्रुज जहाजका तीन यात्रीको मृत्यु, अन्यको उद्धार र घर फिर्ती सुरु
काठमाडौं । एटलान्टिक महासागरमा यात्रा गरिरहेको एमभी होन्डियस नामक क्रुज जहाजमा हन्टाभाइरसको घातक प्रकोप फैलिएपछि हालसम्म तीन जना यात्रीको मृत्यु भएको पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार यस प्रकोपमा परेर नेदरल्याण्डका एक दम्पती र एक जना जर्मन नागरिकले ज्यान गुमाएका छन्। डच नागरिकको गत अप्रिल ११ मा जहाजमै मृत्यु भएको थियो भने उनकी श्रीमतीको घर फर्कने क्रममा जोहानेसबर्गमा मृत्यु भयो। त्यसैगरी मे २ मा केप भर्डको तटीय क्षेत्रमा अर्का एक जर्मन यात्रीको पनि संक्रमणकै कारण ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनकी महामारी विशेषज्ञ मारिया भान केरखोभले यस घटनामा हन्टाभाइरसको एन्डिज भेरियन्ट सक्रिय रहेको र यसले सीमित रूपमा मानिसबाट मानिसमा पनि संक्रमण फैलाउन सक्ने हुनाले बन्द जहाज भित्र यस्तो गम्भीर अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन्। हाल जहाजमा रहेका अन्य यात्रीहरूलाई कडा सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउँदै आ–आफ्नो देश फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ।
यसैबीच आइतबारदेखि विभिन्न देशका यात्रीहरूलाई विशेष चार्टर विमानमार्फत स्वदेश फर्काउन थालिएको छ। जहाजमा रहेका १७ जना अमेरिकी नागरिकहरूलाई थप स्वास्थ्य निगरानीका लागि नेब्रास्का मेडिकल सेन्टर लैजाने तयारी गरिएको छ भने बेलायती र अन्य युरोपेली यात्रीहरूलाई पनि सम्बन्धित देशका सरकारले उद्धार गरिरहेका छन्।
जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपिडिसनले जहाजभित्र मुसाको प्रकोप नरहेको दाबी गरे तापनि पहिलो संक्रमित व्यक्तिले अर्जेन्टिनामा स्थलगत भ्रमणका क्रममा भाइरस बोकेको हुन सक्ने अनुमान गरिएको छ।
विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई नजिकबाट नियालिरहेको र सर्वसाधारणका लागि जोखिम न्यून रहेको बताए तापनि घर फर्किएका यात्रीहरूलाई केही हप्तासम्म विशेष क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।
दक्षिण अफ्रिकामा उपचाररत एक बेलायती नागरिकको अवस्था अझै गम्भीर रहेकाले चिकित्सकहरूले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment