युद्धविरामपछि पनि लेबनानमा रक्तपात: इजरायली ड्रोन आक्रमणमा १७ जनाले ज्यान गुमाए
बेइरुट। लेबनानमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ।
शनिबार राजधानी बेइरुट र देशको दक्षिणी क्षेत्रलाई लक्षित गरी गरिएका ड्रोन तथा हवाई आक्रमणहरूमा कम्तीमा १७ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमध्ये एक १२ वर्षीया बालिकासमेत रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो विवरणअनुसार बेइरुटको दक्षिणी क्षेत्रमा सवारीसाधनहरूलाई निसाना बनाएर तीनवटा ड्रोन प्रहार गरिएको थियो, जसमा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै, दक्षिणी लेबनानको साक्साकियेह गाउँमा भएको भीषण हवाई आक्रमणमा सात जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्। बुर्ज रहाल र माइफादौन लगायतका क्षेत्रमा भएका अन्य सैन्य कारबाहीहरूमा थप ६ जनाले ज्यान गुमाएका छन्।
गत अप्रिल १७ मा इजरायल र विद्रोही समूह हेजबुल्लाहबीच युद्धविरामको घोषणा गरिए पनि मैदानमा त्यसको कुनै प्रभाव देखिएको छैन। दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राख्दा तनाव झन् चुलिएको छ।
बुधबार मात्रै इजरायली वायुसेनाले बेइरुटको दक्षिणी उपनगरमा हेजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डरलाई मारेको दाबी गरेको थियो, जुन युद्धविरामपछिको राजधानी नजिकको पहिलो ठूलो प्रहार थियो।
शनिबारका आक्रमणहरू विशेष गरी बेइरुटलाई दक्षिणी सहर सैदासँग जोड्ने मुख्य राजमार्ग र चोउफ क्षेत्रतर्फ जाने सडकहरूमा केन्द्रित थिए।
लेबनानमा जारी इजरायली अतिक्रमणका कारण लाखौँ नागरिक विस्थापित भएका छन् भने पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको पालना गर्न आग्रह गरिरहे पनि हिंसात्मक घटनाहरू रोकिने संकेत देखिएको छैन।







डिसी नेपाल







Facebook Comment