काठमाडौंमा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगो, २७७ यात्रुको सुरक्षित उद्धार

डिसी नेपाल
२८ वैशाख २०८३ ८:१२

काठमाडाैं। इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ।

आज बिहान पौने सात बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको थियो। आगो लागेको थाहा पाउनेबित्तिकै दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका चार बालबालिकासहित २७७ जना यात्रु नै सुरक्षित रहेका छन्।

विमानमा आगो देखिएपछि आपत्कालीन ढोका (इमर्जेन्सी एभ्याकुएसन) खोलेर यात्रुहरूको तत्काल उद्धार गरिएको थियो। उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको बताइएको छ। विमानमा यात्रु र उनीहरूका सामानका अतिरिक्त केही शवहरू पनि रहेका थिए।

यस घटनाका कारण अहिले अन्तर्राष्ट्रिय उडान र अवतरण पूर्ण रूपमा प्रभावित भएको छ। टर्किस एयरलाइन्सको ‘टीके ७२६’ (TK726) विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित तालिका अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ।

अहिले धावनमार्गबाट विमान हटाउने र उडान सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *