ढिलो जीवनको खुशी मनाउने शहर, शंखेकिराको दौड आयोजना
काठमाडौं । आधुनिक विश्वमा तीव्र गतिको जीवनशैली र प्रतिस्पर्धा सामान्य बन्दै गएका बेला ताइवानको हुआलियन काउन्टीस्थित फेंगलिन शहरले भने ‘सुस्तता’ लाई नै आफ्नो पहिचान र उत्सवको रूपमा मनाउन थालेको छ।
सन् २०२४ को विनाशकारी भूकम्पपछि शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ यहाँ हालै एक अनौठो ‘शंखेकीरा दौड’ (स्नेल रेस) आयोजना गरिएको छ।
करिब १० हजार जनसंख्या भएको फेंगलिन शहर सन् २०१४ मा अन्तर्राष्ट्रिय ‘सिट्टास्लो’ (स्लो सिटी नेटवर्क) मा आबद्ध भएको थियो। धैर्यता, सन्तुलन र शान्त जीवनको प्रतीक मानिने शंखेकीरा नै यो शहरको आधिकारिक चिन्ह हो।
भूकम्पका कारण पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएपछि स्थानीयले आफ्नो मौलिक “ढिलो जीवन” दर्शनलाई नै पर्यटकीय आकर्षणको केन्द्र बनाउने निर्णय गरेका हुन्।
पाँच वर्षको अन्तरालपछि आयोजना गरिएको यस वर्षको दौडमा ताइवानका विभिन्न स्थानबाट मानिसहरूले आफ्ना शंखेकीरासहित सहभागिता जनाएका थिए। प्रतियोगिताको नियम अनुसार शंखेकीराहरूलाई एउटा गोलो टेबलको बीचमा राखिएको थियो, जहाँबाट ३३ सेन्टिमिटरको दूरी सबैभन्दा पहिले पार गर्नेलाई विजेता घोषित गरिने व्यवस्था थियो।
यस वर्षको उपाधि ‘ब्रदर स्नेल’ नामक शंखेकीराले जितेको छ। उक्त शंखेकीराले निर्धारित ३३ सेन्टिमिटरको दूरी ३ मिनेट ३ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेको हो। सहभागीहरूले आफ्ना शंखेकीरालाई ‘प्रशिक्षण’ दिन ताजा फलफूल, तरकारी र गुलियो आलुका पातहरू खुवाउने जस्ता रोचक विधिहरू अपनाएका थिए।
फेङ्गलिन शहर केवल यो अनौठो दौडका लागि मात्र नभई यहाँको ऐतिहासिक हक्का संस्कृति, जापानीकालीन वास्तुकला र पुराना सुर्तीजन्य गोदामहरूका लागि पनि प्रख्यात छ। पर्यटकहरूले यहाँ ई-बाइक मार्फत शान्त वातावरण र हरियालीको आनन्द लिन सक्छन्।
आयोजकहरूका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई विश्वलाई एक महत्वपूर्ण सन्देश दिनु पनि हो। “सधैं छिटो दौडनु नै जीवनको सफलता होइन,” आयोजक समितिले भनेको छ, “कहिलेकाहीँ प्रकृतिको लयमा ढिलो चल्दा नै वास्तविक सुख र आनन्द प्राप्त हुन्छ।” फेंगलिनको यो अभियानले व्यस्त मानव जीवनलाई केही समय विश्राम लिएर प्रकृतिको आनन्द लिन प्रेरित गरेको छ।







डिसी नेपाल







Facebook Comment