महभिरमा पहिरो खस्दा बेनी-जोमसोम सडक ठप्प, पर्यटक र तीर्थयात्री बीचमै रोकिए

डिसी नेपाल
२९ वैशाख २०८३ ७:०८

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित महभिरमा आज बिहानै ठूलो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडकभन्दा करिब ५०० मिटर माथिबाट ढुङ्गा र माटोसहितको लेदो खसेपछि ७६ किलोमिटर लामो यो व्यापारिक तथा पर्यटकीय मार्गमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङतर्फ जाँदै गरेका र मुस्ताङबाट बेनीतर्फ फर्कँदै गरेका सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्। यसबाट स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक र मुक्तिनाथ दर्शनका लागि हिँडेका तीर्थयात्रीहरू प्रत्यक्ष मर्कामा परेका छन्।

विशेषगरी सामान्य वर्षा हुनेबित्तिकै महभिर खण्डमा पहिरो खस्ने समस्याले यस क्षेत्रमा बारम्बार सास्ती हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार अहिले सडक विभागका डोजर र अन्य उपकरणहरू परिचालन गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ। यद्यपि, भिरको माथिल्लो भागबाट अझै पनि लेदो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने देखिएको छ।

महभिरको यो खण्ड अन्य समयमा पनि ढुङ्गा खस्ने जोखिमका कारण सवारी चालक र यात्रुहरूका लागि निकै चुनौतीपूर्ण रहँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *