घरघरमा पुर्‍याउन थालियो राहदानी

डिसी नेपाल
३० वैशाख २०८३ १९:०५

चितवन। सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्‍याउन थालिएको हो।

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो। आज १९ वटा र मङ्गलबार ४४ वटा राहदानी विभिन्न पालिकाहरूमा पठाइएको छ।

मङ्गलबार १२ वटा राहदानी घरमा पुर्‍याएर दिइएको छ। जिल्ला हुलाक कार्यालयले छवटा पालिका हुलाक, भरतपुर महानगरपालिकाका तीन वटा हुलाक काउन्टरमध्ये दुई वटामा राहदानी पठाएको छ।

यस्तै जिल्लाका विभिन्न पालिकामा रहेका १२ वटा अतिरिक्त हुलाक कार्यालयमा राहदानी पठाइएको छ। भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा, खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन्।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि ठेगाना रहेको नजिकको हुलाक कार्यालयमा पठाउने गरिन्छ। त्यहाँका कर्मचारीमार्फत घरघरमा राहदानी पुग्ने गरेको हो।

राहदानी बनाउन फारम भर्ने समयमा कहाँबाट लिने भन्ने निवेदनमा भरेपछि सोहीअनुरूप राहदानी पुग्ने गर्दछ। राहदानी घरमा नै पुर्‍याउने भएमा सोही समयमा ५५ भुक्तानी गर्नुपर्ने हुन्छ। राहदानीसँगै रसिद पनि पठाइने उनले जानकारी दिए। हुलाक कार्यालय र मातहतमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी रहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *